काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समिति सभापतिसम्बन्धी प्रावधानबारे कुरा उठाएकाे छ ।
आइतबार सिंहदरबारमा बसेकाे समितिकाे बैठकमा सांसद् गोकुल बास्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनुभयाे ।
लाेकतन्त्रको सुन्दर पक्षको कदर गर्नुपर्ने भन्दै उहाँले चेक एण्ड ब्यालेन्सको लागि पनि सत्तापक्षले लेखा समितिको सभापति छाड्नुपर्ने बताउनुभयाे । संसारभर नै लेखा समिति प्रतिपक्षीले सम्हाल्ने अभ्यास रहेकाे बास्काेटाले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'हामी लोकतान्त्रिक अभ्यासमा छौं, यो हाम्रो प्रणाली मात्रै हाेइन जीवन पद्धति हो र हाम्रा परम्परा, व्यवस्थाका कारणले पनि अरुलाई हाम्रा अभ्यासको कारणले पनि अपवाद बाहेक लेखा समितिको नेतृत्व सामान्यतया संसारभरिनै प्रतिपक्षले गर्ने व्यवस्था छ, यस सम्बन्धमा म ध्यानाकर्षण मात्रै गराउन सक्छु, सभापतिज्यूसँग व्यक्तिगत भन्दा पनि प्रणालीको कुरा उठाउन चाहेँ, अहिलेको सत्ता पक्षलाई लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्ने कुरा अनुराेध गर्न चाहान्छु, हाम्रो परम्परागत प्रणाली र मर्यादालाई नभत्काइयोस् ।'
एमाले सांसद् गौतमले पनि संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने बताउनुभयाे ।
बैठकमा समिति सभापति भरत शाहले सभापति पद छाड्ने कि नछाड्ने आफ्नो स्वेच्छाको कुरा भएको बताउनुभयो । ०५६ सालदेखि नै आफू लेखा समितिमा बस्दै आएको भन्दै शाहले २० वर्षको अवधिमा कसैले पनि राजीनामा दिएर गएको आफूलाई थाहा नभएको दाबी गर्नुभयाे । सभापति शाहले साे कुरा उठाउनु विपक्षीकाे धर्म भएको भन्दै त्यसले प्रजातन्त्र सुदृढ भएर जाने विश्वास व्यक्त गर्नुभयाे ।
बैठकमा महालेखापरीक्षकको ५८ औ वार्षिक प्रतिवेदन, २०७८ माथि छलफल भएकाे थियाे । बैठकमा महालेखापरीक्षक टंकमणी शर्माले ५ हजार चार सय ६१ वटा निकायको लेखापरीक्षण सकिएको जानकारी दिनुभयो । शर्माले सरकारी निकायहरुको बेरुजु १ खर्ब ४ अर्ब रहेको बताउनुभयो ।
