काठमाडाैं । संघीय संसद्काे दुवै सदनकाे बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाकाे बैठक दिउँसाे २ बजे र राष्ट्रिय सभाकाे बैठक दिउँसाे १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएकाे छ । आजकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन (आ.व. २०७७-७८)' पेस गर्नुहुने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
आज बस्ने राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची तय छ । प्रधानमन्त्री शेरबहादुर 'राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन, २०७७-०७८, मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७७-०७८ र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन, २०७६-०७७' सभा समक्ष पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले 'अध्यागमन विधेयक, २०७६' सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०७६ लाई फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
