काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले परमादेश सरकारकाे पर्दाफास भएकाे बताउनु भएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा बाेल्दै भट्टराईले देशमा सरकारबिहीन अवस्था सृजना भएकाे बताउनुभयाे । प्रधानमन्त्री शेरबहादुर देउवाले खाने र सुत्नेबाहेक अरु कुनै काम गर्न नसक्नुभएकाे उहाँले बताउनुभयाे । भट्टराईले भन्नुभयाे - 'बूढानीलकण्ठबाट बालुवाटार आएर सुत्ने कामबाहेक प्रधानमन्त्रीले अरु केही गर्नुभएकाे छैन, उहाँ कहिलेकाँही उठ्नुहुन्छ अनि हाम्राे सरकारले गरेका राम्रा काम भत्काउनुहुन्छ ।'
असार २८ मा देउवालाई प्रधानमन्त्री बनाउने गरी सर्वोच्च अदालतबाट भएको परमादेशको पर्दाफास भएकाे उहाँले बताउनुभयाे । परमादेशको पटाक्षप भएको भन्दै उहाँले एउटा मन्त्री नियुक्त हुनुले वा राजीनामा दिनुले पुग्यो कि पुगेन भन्ने प्रश्न उठेको बताउनुभयाे । परमादेशको ढाकछोपका लागि एक जना मन्त्रीले राजीनामा दिएर नहुने बताउँदै उहाँले भन्नुभयाे - 'परमादेशकाे फैसला कसरी आएकाे रहेछ भन्ने पर्दाफास भयाे, स्वतन्त्र न्यायापालिका धराशाही बनाउने काम गरियाे, एउटा मन्त्री नियुक्त वा राजीनामा दिएर यसकाे समाधान हुन्छ ?'
केपी शर्मा ओली नेतृत्वकाे एमाले सरकार किन ढालिएकाे रहेछ भन्ने पनि पुष्टि भएकाे भट्टराईले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हामीलाई प्रधानमन्त्री बनाइदिनुपर्याे भनेर उहाँहरुले मुद्दा हाल्नुभयो अदालतमा, किन मुद्दा हालिएको रहेछ भन्ने कुरा अहिलर्दे शले बुझ्ने मौका पायो, किन हालिएको रहेछ भन्ने कुरा नेपाली जनताले बुझ्ने मौका अहिले मिल्यो,याे सत्ता लिप्सा हाे र गैरराजनीतिक आकांक्षाकाे निम्ति उहाँहरुले यसाे गर्दै हुनुहुन्छ ।'
लाेकतन्त्र र संविधान बलियाे बनाउन सरकार चाहियाे, एमालेले संविधान कमजाेर बनायाे भनेर केपी ओलीलाई सत्ताच्युत गराउनेहरुकाे उद्देश्य पछिल्ला राजनीतिक घटनाक्रमले पुष्टि गरेका भट्टराईले बताउनुभयाे । मुद्दा मामिला देश र जनताका लागि हाेइन गैरराजनीतिक आकांक्षा पूरा गर्न हो भनेर एमालेले पहिले नै भनेको बताउँदै खिमलालले भन्नुभयाे - 'अहिले आएर त्यो पर्दाफास भएको छ, त्यो उदांगिएको छ ।' गैरसांसद्लाई राखेर प्रतिनिधि सभा चलाउने काम भएको भन्दै उहाँ आपत्ति जनाउनुभयाे ।
एमालेलाई फुटाउन नसके पनि चोइट्याउन सकिन्छ कि भन्ने उद्देश्य गठबन्धनको रहेको उहाँले बताउनुभयो । परमादेश सरकारले गरेका कामका कारण सत्तापक्षका सांसद्को शिर निहुरिएको पनि भट्टराईले बताउनुभयाे । एमालेलाई सत्ताबाट हटाउने उद्देश्य पूरा भए पनि पछिल्ला घटनाक्रमले सत्तारुढ दलका सांसद्ले सदन बाहिर संसद्को लोगो लगाएर समेत हिँड्न नसक्ने अवस्था आएको बताउँदै खिमलालले भन्नुभयाे - 'बाहिर सत्ताधारी दलका संसद्को लोगो लगाउने सक्नु भएको छैन, दशैं राम्ररी मनाउने अवस्था होला तर अरु केही छैन ।'
पछिल्ला घटनाक्रमले नेपालको परिवर्तन र राजनीति प्रति नै चिन्ता गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । पछिल्ला घटनाक्रमले देश र व्यवस्था नै संकटमा पर्ने खतरा बढ्दै गएको पनि खिमलालले बताउनुभयाे ।
