काठमाडौं । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले भूमि आयोगको खारेजीको परिणाम रुपन्देहीको मोतीपुर घटना भएको बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै भट्टराईले रुपन्देहीको मोतीपुरमा आइतबार प्रहरीको गोलीबाट चार जना मानिसको ज्यान जाने गरी भएको घटना भूमि आयोग खारेजीकै परिणाम भएको बताउनुभयो । आयोग खारेज नभएको भए अहिले देशभरिका सुकुम्बासीको हातमा जग्गाधनी पूर्जा हुने र हिजोको घटना नहुने उहाँको टिप्पणी छ । ‘हिजो एउटा असाध्यै दर्दनाहक, दुःखद अपराधजन्य काम रुपन्देहीमा भयो’, उहाँले भन्नुभयो ।
प्रस्तावित मोतीपुर औद्योगीक क्षेत्रमा आइतबार जग्गा कब्जा गर्न आएका भूमिहीन, सुकुम्बासी र प्रहरी बीच झडप हुँदा चार जनाको ज्यान गएको छ । भूमिहीनलाई व्यवस्थापन गर्नु पर्नेमा सरकारले प्रहरी लगाएर गोली हानि मानिसको ज्यान लिएको उहाँले बताउनुभयो ।
उहाँले बुटवलममा निर्दोष नागरिकलाई गोली हानेर मारिएको भन्दै सो घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो । त्यही जिल्लाका गृहमन्त्री हुँदा चार जना मानिसको गोली हानि हत्या गर्ने कुरा सामान्य नभएको उहाँले बताउनुभयो । ‘गृहमन्त्रीज्यू आज कुन नैतिकताको आधारमा त्यो कुर्सीमा बसिरहनुभएको छ, मलाई उदेक लाग्छ’, भट्टराईले भन्नुभयो ।
अरुलई दशैँ आउँदा भूमिहीन सुकुम्बासीको दशाको दिन आएको भन्दै उहाँले घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गर्नुभयो । भट्टराईले सो घटनाको निष्पक्ष छानविन गर्न पनि माग गर्नुभयो ।
