काठमाडौं । सोमबार पनि प्रतिनिधि सभा बैठकमा एमाले सांसद्ले विरोध जनाएका छन् ।
सभामुख अग्नीप्रसाद सापकोटालो प्रतिनिधि सभा बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै एमाले सांसद्ले रोष्टम अगाडि आएर विरोध जनाएका छन् ।
सभामुखले संविधान विपरित गैरसांसद्लाई राखेर संसद् चलाएको भन्दै एमाले सांसद् प्रतिनिधि सभाको यो बैठक सुरु भएदेखिनै विरोधमा छन् । एमालेले कारबाही गरेका सांसद्को कारबाहीको सूचना प्रतिनिधि सभामा टाँस नगरेको भन्दै एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
एमाले सांसद्ले संसद्को सर्वोच्चता कायम गर्नु पर्ने माग राख्दै सभामुख विरुद्ध नाराबाजी गरेका थिए । सभामुखले बैठक अवरुद्ध नगर्न बारम्बार रुलिङ् गरेपनि त्यसको अवज्ञा गर्दै एमाले सांसद्ले नाराबाजी गरेका छन् ।
सोमबारको बैठकमा एमाले सांसद्ले रुपन्देहीमा गोली हानि सर्वसाधारणको हत्या गरिएको घटनाको समेत विरोध जनाएका थिए । एमाले सांसद्ले प्रहरीले निर्दोष मानिसलाई गोली हानि हत्या गरेको भन्दै त्यसको विरुद्धसमेत नारा लगाएका थिए ।
