काठमाडाैं । वाग्मतीकाे प्रदेश सभा बैठक आज बस्दैछ ।
बैठकअपरान्ह ४ बजेका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासकाे मत लिने प्रक्रिया सुरु हुने कार्यसूची छ । तर नेकपा एमालेले बैठक सार्न आग्रह गरेकाले आजकाे बैठक बस्ने नबस्ने अन्याेल रहेकाे बताइएकाे छ । एमालेले प्रदेश सभा बैठक सार्न माग गर्दै सभामुख सानुकुमार क्षेष्ठलाई पत्र पठाएकाे छ ।
गत असोज २४ गतेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएकाे थियाे । साे प्रस्तावमाथि आज बस्ने बैठकमा छलफल र मतविभाजन हुने कार्यसूची भएपनि सत्तारुढ एमालेकाे पत्रका कारण अन्याेल बढेकाे हाे । विपक्षी गठबन्धनले भने सदन चलाएर मत विभाजन प्रक्रिया थाल्न सभामुखलाई आग्रह गरेकाे छ ।
नेकपा एमालेका १३ सांसद् माधव नेपालकाे पार्टीतिर लागेपछि अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएकाे थियाे । मुख्यमन्त्री शाक्यसँग हाल सभामुखसहित ४३ जना सांसद् छन् । प्रदेश सभामा एमालेका ४३ सहित माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसद् छन् । विश्वासकाे मत पाउन ५५ सांसद्काे समर्थन चाहिन्छ ।
