काठमाडाैं । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालसहित २० जना सदस्यको पद आगामी फागुनमा रिक्त हुने भएको छ ।
चार वर्षे कार्यकाल रहेका २० जना राष्ट्रिय सभाका सदस्यको पद आगामी फागुन २१ गतेबाट पद रिक्त हुने निर्वाचन आयाेगले जनाएकाे छ । रिक्त हुनेमा एमालेका ८, माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ४, कांग्रेसका ३ र १ जना मनोनित छन् ।
०७४ साल फागुनमा पहिलो निर्वाचनबाट निर्वाचित भएका ५९ सदस्यको कार्यकाल गोलाप्रथाबाट तय गरिएको थियो । तीमध्ये गोला तान्दा २ वर्ष कार्यकाल परेकाहरु अघिल्लो बर्ष नै बिदा भएका थिए । गाेला तान्दा ४ वर्ष कार्यकाल पर्नेहरु आगामी फागुन २० गतेबाट बिदा हुन लागेका हुन् ।
गाेला तान्दा ६ वर्षे कार्यकाल पर्ने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना सदस्यले भने पूरै कार्यकाल अर्थात ६ वर्ष नै काम गर्न पाउनेछन् ।
कार्यकाल सकिनेमा कांग्रेसका दृगनारायण पाण्डेय पनि हुनुहुन्छ । माओवादी छाडेर एमालेमा लागेकाे भन्दै चन्द्रबहादुर खड्कालाई माओवादीले कारबाही गरेपछि रिक्त भएकाे पदमा भएकाे उपचुनावमा पाण्डेय निर्वाचित हुनुभएकाे थियाे । गोला प्रथा गर्दा खड्काको कार्यकालय चार वर्ष रहेकाले पाण्डेयको कार्यकाल पनि २० फागुनमा सकिन लागेको हाे । पाण्डेय ०७८ जेठ १७ मा निर्वाचित हुनुभएकाे थियाे ।
पद रिक्त हुने ठाउँमा राष्ट्रिय सभा चुनाव गर्नेबारे निर्वाचन आयाेगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेकाे छ । आयाेगसँगकाे छलफलमा देउवाले चाँडै नै राष्ट्रिय सभाकाे चुनावकाे मिति घाेषणा गर्ने बताउनुभयाे ।
यी हुन् पदमुक्त हुन लागेका सांसद्
एमाले
१. अगमप्रसाद वान्तवा राई २. कविता बोगटी ३. कोमल वली ४. चक्रप्रसाद स्नेही ५. नैनकला ओझा ६. परशुराम मेघी गुरुङ ७. रामलखन चमार ८. सुमनराज प्याकुरेल
कांग्रेस
१. दृगनारायण पाण्डे २. तारादेवी भट्ट ३. राधेश्याम अधिकारी
माओवादी केन्द्र
१. खिमकुमार विक २. जीवन बुढा ३. दीनानाथ शर्मा ४. शशीकला दाहाल
एकीकृत समाजवादी
१. उदया शर्मा पौडेल २. ठगेन्द्रप्रकाश पुरी ३. शानितकुमारी अधिकारी जिसी ४. शेरबहादुर कुँवर
पदमुक्त हुने मनोनीत सांसद्
१. रामनारायण बिडारी
