काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुभएकाे छ ।
बुधबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाक्यले राजीनामा दिने घाेषणा गर्नुभएकाे हाे । संविधान अनुसार आफूले मार्गप्रशस्त गरेकाे मुख्यमन्त्री शाक्यले बताउनुभयाे ।
एक अर्काबीच सहयाेग गरेर अगाडि बढ्न, मिलेर काम गर्न र एउटा राम्राे संस्कार बसाल्न आफूले मार्गप्रशस्त गरेकाे बताउँदै उहाँले भन्नुभयाे - 'आगामी दिनमा मिलेर अगाडि बढ्न यही बाटो ठिक हुन्छ भन्ने एमालेलाई लाग्यो, मन्त्रीहरू र संसदीय दलको बैठक पनि बसियो, यसैगरी जाँदा राम्रो हुन्छ भनेर मार्गप्रशस्त गरेकी छु ।'
आजकाे बैठकमा विश्वासको मत लिने प्रस्तावमाथि मतविभाजन गर्ने कार्यसूची थियाे । तर मुख्यमन्त्री शाक्यले राजीनामा दिनुभयाे । एमालेकी उपाध्यक्षसमेत रहनुभएका शाक्य भदौ २ गते मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
सदनकाे गरिमा बचाउन सबै मिलेर लाेकतान्त्रिक संस्कार बसाउनुपर्ने उहाँले बताउनुभयाे । प्रदेशकाे विकासका लागि सबै दल मिलेर अगाडि बढ्नुपर्ने भन्दै उहाँले एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभयाे । देश र जनताका लागि अनेक आराेह अवराेह पार गर्दै उहाँले भन्नुभयाे - 'दु:खकष्टका दिन दन्तेकथा जस्ताे लाग्छ, खाइनखाइ बसेर व्यवस्था ल्यायाैं ।'
आफूहरुले दिएकाे बलिदान खेर नजाेहाेस् भन्ने कामना उहाँले गर्नुभयाे । आफूलाई सहयाेग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयाे । परिवर्तनलाई निक्कै महत्वसाथ लिनुपर्ने भन्दै उहाँले यसलाई जनताकाे हितका लागि प्रयाेग गर्न पनि उहाँले आह्वान गर्नुभयाे ।
