काठमाडाैं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिलाई संस्कारयुक्त बनाउनुपर्ने बताउनु भएकाे छ ।
बुधबार बसेकाे प्रदेश सभा बैठकलाई सम्बाेधन गर्दै मुख्यमन्त्री शाक्यले धेरैकाे बलिदानबाट देशमा परिवर्तन आएकाे भन्दै यसलाई जाेगाउनुपर्ने बताउनुभयाे । वर्तमान राजनीतिक परिवर्तनलाई साह्रै महत्त्वपूर्ण ढंगले लिनुपर्ने भन्दै उहाँले यसलाई जनताकाे हितका लागि प्रयाेग गर्न आव्हान गर्नुभयाे ।
उहाँले भन्नुभयाे -'यो ठाउँसम्म पुर्याउन धेरैको महत्वपूर्ण योगदान छ, यसलाई जोगाउने हाम्रो अहम् दायित्व हो, गणतन्त्र जोगाउने र संघीयता जोगाउने दायित्व हाम्राे हाे, आर्थिक सामाजिक रुपमान्तरण गर्ने, नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली भनेर विश्वलाई हामीले चिनाउन चाहेको हो,हाेइन र ?'
प्रदेश सभालाई सम्बाेधन गर्ने क्रममै राजीनामा घाेषणा गर्नुभएका मुख्यमन्त्री शाक्यले देश र जनताका लागि परिवर्तन गर्न आफूले वितमा निक्कै दु:खकष्ट सहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हिजाेका ती दु:खकष्ट दन्तेकथा जस्ताे लाग्छ,कसरी सकियाे हाेला जस्ताे लाग्छ आज ।' देश र जनताका लागि अहिलेकाे व्यवस्थाका लागि पढाइ छाेडेर र परिवार छाेडेर बलिदानमा आफू लागेकाे उहाँले बताउनुभयाे । साे बलिदान खेर नगएकाे उहाँले बताउनुभयाे । अब पनि खेर नजाहाेस् भनेर उहाँले कामना पनि गर्नुभयाे ।
विगतमा राजनीतिक जीवनकालमा बलिदान दिने स्थिति पटकपटक आएकाे स्मरण गर्दै उहाँले भन्नुभयाे - 'मैले बलिदान खेर गयाे भन्न खाेजेकाे हाेइन,त्यही बलिदानकै कारण आज हामी याे अवस्थामा आएका छाैं,हामीले त्यसबेला बलिदानमा चढेको भए के हुन्थ्यो ? त्यो भएको भए हामी यहाँ हुने नै थिएनौं, त्यो बलिदानको घडीलाई चुनौती दिएर अगाडि बढेकाले यहाँ भेट भयाे , अहिले पनि चिन्ता लागिरहन्छ, जुन लक्ष्यसाथ अगाडि बढ्यौं, के हामी साँच्चै त्यो लक्ष्य प्राप्त दिशामा अगाडि बढेका छौं ?'
सत्ता र प्रतिपक्ष मिलेमात्र राजनीतिक स्थायित्व र स्थिरता कायम गर्न सकिने उहाँले बताउनुभयाे । मुख्यमन्त्री शाक्यले आगामी दिनमा एमाले प्रतिपक्षको रूपमा रहे पनि वाग्मती प्रदेशको विकासका लागि मिलेर अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
सत्तापक्ष र प्रतिपक्षबीचमा परम्परागत सोच राखेर प्रदेशको विकास गर्न नसकिने भन्दै उहाँले वाग्मतीलाई नमुना प्रदेश बनाउनका लागि एकअर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने बताउनुभयाे । समृद्ध वाग्मती प्रदेशका लागि मिलेर काम नगरी सुखै नहुने उहाँले बताउनुभयाे ।
आउँदा दिनमा वाग्मती प्रदेश सभामा मिलेरै अगाडि बढ्नका लागि मार्गप्रशस्त गर्नु राम्राे रहेकाले संविधानअनुसार आफूले मार्गप्रशस्त गरेकाे उहाँले बताउनुभयाे । सदनकाे गरिमा बचाउन सबै मिलेर लाेकतान्त्रिक संस्कार बसाउनुपर्ने उहाँले बताउनुभयाे । प्रदेशकाे विकासका लागि सबै दल मिलेर अगाडि बढ्नुपर्ने भन्दै उहाँले एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभयाे । आफूलाई सहयाेग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयाे ।
