काठमाडाैं । प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासकाे मत लिँदै हुनुहुन्छ ।
मध्यान्ह साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । मुख्यमन्त्रीले राख्नुभएकाे विश्वासको मतको प्रस्तावमाथि आज मतविभाजन हुन लागेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
कात्तिक ५ गते बसेकाे प्रदेश सभा बैठकमा मुख्मन्त्री आचार्यले विश्वासको मत लिने प्रस्ताव टेबुल गर्नुभएकाे थियाे । उहाँले विश्वासकाे मत पनि माग्नुभएकाे थियाे । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते प्रदेश सभा सचिवालयमा दर्ता गराउनुभएकाे थियाे ।
एमालेका १० सांसद् एकीकृत समाजवादीतिर लागेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नुभएकाे छ । आचार्य गत भदौ १० गते प्रदेश-१ को मुख्यमन्त्री बन्नुभएकाे थियाे । प्रदेश-१ प्रदेश सभामा ९२ जना सांसद छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासकाे मत पाउन ४६ सांसद् चाहिन्छ । नेकपा एमालेसँग सभामुखसहित ४१ जना सांसद् मात्र छन् ।
कांग्रेसका २१, माओवादी केन्द्रका १५,एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद् छन् । राप्रपा बाहेक अरु सबै विपक्षी गठबन्धनमा छन् ।
यसैबीच विपक्षी गठबन्धले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।
