काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले देश निर्माणका लागि सबै राजनीतिक दल मिलेर जानुको विकल्प नरहेको बताउनुभएको छ ।
सोमबार प्रदेश सभमा विश्वासको मत माग्दै उहाँले आफू अग्लो हुनको लागि अरुलाई थिच्ने परम्पराले कसैलाई पनि अग्लो नबनाउने बताउनुभयो । ‘एउटा राजनीतिक संस्कार र पद्धति विकास गरेर जानुपर्छ’, उहाँले भन्नुभयो ।
लोकतन्त्र बचाउन लडेका सबै दल कुनैन कुनै विन्दुमा पुगेर एक ठाउँमा उभिनु पर्ने उहाँले बताउनुभयो । देश संकटमा पर्ने अवस्था आउँदा सबै एक ठाउँमा उभिनुको विकल्प नभएको उहाँले बताउनुभयो ।
आफ्नो नेतृत्वको सरकार विषम राजनीतिक परिस्थितिमा गञ्जागोलका बीच गठन भएको उहाँले प्रष्ट पार्नुभयो । तथापि विगतको सरकारले सुरु गरेका राम्रा कामलाई यो सरकारले निरन्तरता दिइरहेको उहाँले बताउनुभयो ।
