काठमाडौं । वाग्मती प्रदेश सभामा माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधान, व्यवस्था र प्रदेश जोगाउन अहिलेको गठबन्धन आवश्यक परेको बताउनुभएको छ ।
सोमबार प्रदेश सभा बैठकमा बोल्दै उहाँले गठबन्धन संविधानको पूर्णकार्यान्वयनको लागि भएको बताउनुभयो । नेकपा एमाले सरकार र पार्टी सञ्चालन गर्न असफल पार्टी भएको उहाँले आरोप लगाउनुभयो ।
उहाँले सबैको हैसियत निर्वाचनमा देखिने भए पनि अहिले भने एमाले असक्षम पार्टी भएको बताउनुभयो । केपी ओलीले नेतृत्व गर्न नसकेको कारण नेकपा विगठन भएको र एमाले असक्षम भएको कारण केन्द्रदेखि प्रदेशसम्म एमालेका सरकार विगठन भएका उहाँको भनाइ छ । ‘भोलि आउनुहोला, जनमत लिएर आउनुहोला, तपाई चलाउनुहोला, तपाईहरुलाई शुभकाना छ, तर अहिले तपाईँ असक्षम हो, हारेकै हो, स्वीकार्नुस्’, जम्कट्टेलले भन्नुभयो ।
प्रतिपक्षमा रहँदा पनि एमालेले आफूसँग जनमत रहेको धाक लगाएको उहाँले बताउनुभयो । प्रदेशवासीको जनमतले गठबनधनलाई प्रदेशको नेतृत्व गर्ने जिम्मेवारी दिएको उहाँले बताउनुभयो । ‘हामी अब प्रदेशबासीको हितमा काम गर्ने र प्रदेशको विकासको जिम्मेवारीमा आएका छौँ’, उहाँले भन्नुभयो ।
