काठमाडाैं । नेकपा एमाले वाग्मती प्रदेश सभाका प्रमुख सचेतक दीपक निरौलाले मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वकाे सरकार असंवैधानिक प्रक्रियाबाट जन्मिएकाे बताउनु भएकाे छ ।
साेमबार बसेकाे प्रदेश सभा बैठकमा विश्वासकाे मतसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै सांसद् निराैलाले भन्नुभयाे - 'याे असंवैधानिक प्रक्रियाबाट जन्मिएकाे याे सरकारलाई विश्वासकाे मत दिन सकिँदैन ।' गठबन्धन अप्राकृतिक,अप्रजातान्त्रिक र असंवैधानिक भएकाले वाग्मती प्रदेश सरकार पनि असंवैधानिक रहेकाे उहाँकाे भनाइ छ ।
सरकारका कुनै पनि याेजना नसुनाइ नामकाे मात्रै मुख्यमन्त्री हूँ भन्ने तरिकाले विश्वासकाे मत माग्नु गलत रहेकाे उहाँले बताउनुभयाे । 'प्रदेश सरकारका याेजना,समृद्ध प्रदेश कसरी बनाउने खाका मुख्यमन्त्रीबाट प्रस्तुत नुहनु भनेकाे, जनताकाे मतलाई अपमान गरेर गैरन्यायिक ढंगबाट गरिएकाे असंवैधानिक व्याख्याकाे निरन्तरता हाे'-निराैलाकाे भनाइ छ ।
पाण्डे नेतृत्वको सरकारले अप्रजातान्त्रिक अभ्यास थालेकाे निराैलाले बताउनुभयाे । एकीकृत समाजवादीकाे कमिटी बनेका वडामा मात्र बजेट दिन्छु भन्ने मुख्यमन्त्री पाण्डेकाे अभिव्यक्ति अप्रजातान्त्रिक भएकाे उहाँकाे ठहर छ । मुख्यमन्त्रीका नाममा राज्यकाेषकाे पैसा दुरुपयाेग गर्न खाेज्नु अप्रजातान्त्रिक रहेकाे निराैलाले बताउनुभयाे ।
उहाँले भन्नुभयाे -'हाम्राे कमिटी गठन नभएका वडामा बजेट दिँदैनाैं भन्नु गैरप्रजातान्त्रिक हाे, याे संस्कारलाई पश्रय दिँदै अगाडि बढ्नुहुन्छ भने म चुनाैती दिन चाहान्छु, कुन कुन वडामा के आधारमा बजेट दिनुहुन्छ ? के आधारमा राेक्नुहुन्छ ? जनताले माैलिक अधिकार नपाउने ? यही प्रवृत्ति र संस्कार अनुसार अगाडि बढ्नुहुने हाे भने म टर्च बालेर खाेज्नुपर्छ भन्दैनाैं, नेपाली जनताले टर्च बाल्न दु:खै गर्न पर्ने छैन,आवश्यकता छैन ।'
राजनीतिमा हिँडेकाहरुसँग कसरी हिँड्नुपर्छ भनेर सिक्न उहाँले एकीकृत समाजवादीलाई चुनाैती दिनुभयाे । 'हिँड्नु कसरी पर्छ हिँडाउनेहरुले सिकाउनुस्, तपाईंहरुले ताते कसरी गराउनुहुन्छ हामीले हेरिरहेका छाैं,वडा कमिटी बनाएपछि विकास निर्माण गर्ने हाे भने त प्रजातन्त्र त यहीँ देखियाे त ?' एउटा दलकाे कमिटी बनाउन राज्यकाे ढुकुटीबाट खर्च गर्न खाेज्नु भनेकाे निरंकुशता हाे, याे गठबन्धनले कुन निरंकुशता ल्याउन खाेजेकाे हाे ?'
नेकपा एमालेकाे पक्षमा जनमत रहेकाे उहाँले बताउनुभयाे । जनमत नभए एमाले प्रतिपक्ष भन्दा पनि तल बस्न तयार भएकाे उहाँले बताउनुभयाे । वाग्मतीसँगै केन्द्रमा बनेकाे गठबन्धनले कपटपूर्ण राजनीति गरेकाे उहाँले बनाउनुभयाे । सांसद् निराैलाले सृमद्ध नेपाल सुखी नेपालीकाे अभियानमा हिँडिरहेका बेला अवराेध भएपछि एमाले प्रतिपक्षमा बस्ने अवस्था आएकाे स्मरण गर्नुभयाे ।
