काठमाडाैं । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पाेखरेलले प्रदेश सरकार र प्रदेश सभाका कामकारबाहीप्रति असन्तुष्टि जनाउनु भएकाे छ ।
आइतबार बसेकाे लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बाेधन गर्दै नेता पाेखरेलले प्रदेश सरकार र प्रदेश सभाले कानुन बाहिर गएर काम गरेकाे बताउनुभयाे । उहाँले प्रदेश सभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीका बिषयमा उठेका प्रश्नको निरुपण नभएसम्म सदन चल्न नसक्ने पनि स्पष्ट पार्नुभएको छ ।
उहाँले भन्नुभयाे -'संवैधानिक र कानुनी हिसाबले हामीले उठाएका विषय न त प्रदेश सभाले नै यथाेचित रुपमा संवाेधन गर्ने काम गरेकाे छ,न प्रदेश सरकारले चासाे राखेकाे छ ।' नयाँ सरकार आएपछि प्रमुख प्रतिपक्षीका रुपमा रचनात्मक सहयाेग गर्न चाहेपनि त्यसाे हुन नसके नेता पाेखरेलले बताउनुभयाे । राजनीतिक हिसाबले नभएर संवैधानिक र कानुनी हिसाबले भएकाे ऋटि सच्चाउनुपर्ने माग आफूहरुकाे रहेकाे बताउनुभयाे ।
साे विषय दलीय आग्रहकाे विषय नभएकाे बताउँदै उहाँले भन्नुभयाे - 'दलहरु अर्थात नेकपा एमाले सरकारकाे गठबन्धनकाे रुपमा सामेल भएकाे रुपमा देखिनुपर्याे अन्यथा नेकपा एमाले सम्बद्ध व्यक्तिहरु सरकारका सदस्यहरु हुन सक्दैनन्,यात प्रदेश सभाले ती व्यक्तिहरु निर्वाचन आयाेगद्धारा अन्य दलका रुपमा प्रमाणित छन् भन्ने पुष्टि गर्न सक्नुपर्याे,न निर्वाचन आयाेगले अन्य दलका रुपमा पुष्टि गरेकाे छ,त्यसर्थमा मन्त्रिपरिषद् गठनमा जुन तरिका प्रयाेग गरेकाे छ त्याे असंवैधानिक र गैरकानुनी छ भन्ने हाम्राे मान्यता छ ।'
कानुनको व्याख्या गर्ने अधिकार प्रदेश सभा र सरकारलाई नभएको भन्दै उहाँले सांसद्काे बिषयमा निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई रहेको बताउनभयाे । प्रदेश सभाले दलले गरेकाे कारबाहीकाे सूचना प्रकाशित गर्ने मात्र रहेकाे पोखरेलले बताउनुभयाे । त्यसैले प्रदेश सरकारकाे कामप्रति आफूहरुकाे असन्तुष्टि रहेकाे पाेखरेलले बताउनुभयाे । सरकारले पनि कानुनसम्मत रुपमा काम गर्नुपर्ने नेता पाेखरेलकाे भनाइ छ ।
सरकारले संवैधानिक र कानुनी औचित्यकाे पुष्टि गर्ने विषमा सरकार गम्भीर नभएकाे उहाँले बताउनुभयाे । सरकारले सहकार्य गरेर प्रदेश सभा अगाडि बढाउनुपर्नेमा यसमा सरकार माैन रहनु विणम्बना रहेकाे पाेखरेलले बताउनुभयाे । गम्चीर विषय उठाउँदा पनि प्रदेश सरकार मस्त निद्रामा रहेकाे उहाँले बताउनुभयाे । प्रदेश सभाले कानुनसम्मत रुपमा यस विषयमा छलफल गर्नुपर्ने उहाँले बताउनुभयाे ।
आफू नेतृत्वकाे सरकारले विकास र सुशासनका पक्षमा निक्कै राम्राे काम गरेकाे उहाँकाे भनाइ छ । अन्य प्रदेशमा भन्दा राम्राे काम लुम्बिनी प्रदेशले गरेकाे उहाँले स्मरण गराउनुभयाे । प्रतिपक्षमा रहँदा जे बाेलेपनि हुन्छ सत्ता पक्षमा आएर केही नगरेपनि हुन्छ भन्ने हिसाबले प्रदेश सरकारले काम गरिरहेकाे उहाँले बताउनुभयाे । निर्वाचन क्षेत्र विकास कार्यक्रमबारे दैनिक कुरा उठाउनेहरुले अहिले सरकारमा गएपछि माैन बसेका उहाँले बताउनुभयाे ।
