काठमाडाैं । प्रदेश-१ मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिनुहुने भएकाे छ ।
आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री राईले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे । मंगलबार नै विश्वासकाे मत लिने कार्यसूची भएपनि नेकपा एमालेका सांसद्हरु बन्दका कारण उपस्थित हुन नसकेपछि आजका लागि बैठक सारिएकाे थियाे ।
मुख्यमन्त्री राईले विश्वासकाे मत लिने प्रस्ताव कात्तिक २८ गते प्रदेश सभा सचिवालयमा दर्ता गर्नुभएकाे थियाे । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री राईकाे तयारी छ ।
भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि एकीकृत समाजवादी प्रदेश-१ संसदीय दलका नेता राई मुख्यमन्त्री बन्नुभएकाे थियाे । एकीकृत समाजवादीसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
मुख्यमन्त्री नियुक्त भएकाे ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक प्रावधान छ । मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद्काे समर्थन चाहिन्छ छ । ९२ सदस्यीय प्रदेश सभामा हाल एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १-१ जना प्रदेश सांसद छन् ।
एमालेका ४१ मध्ये सांसद् गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेपछि फरार हुनुहुन्छ ।
विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री राईकाे तयारी छ ।
