काठमाडाैं । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन अन्त्य भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गर्नुभएकाे हाे । प्रदेश प्रमुखकाे कार्यालयले विज्ञप्तिमार्फत साे जानकारी दिएकाे छ ।
एक दिन पनि पूरा नबसी लुम्बिनी सरकाले नवौं अधिवेशन अन्त्य गरेकाे छ । शंकर पाेखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि साउन २८ मा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीकाे नेतृत्वमा गठबन्धन सरकार बनेको थियो ।
भदाै १ गते प्रदेश सभाकाे नवाैं अधिवेशन अधिवेशन आह्वान भएको थियो । साेही दिन मुख्यमन्त्री केसीले प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच विश्वासकाे मत लिनुभएकाे थियाे । पार्टीले कारबाही गरेका २ सांसद्लाई पदमुक्त नगरेकाे भन्दै नेकपा एमालेले भदाै १ गतेदेखि नै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएकाे थियाे ।
एमालेले पटक पटक आग्रह गर्दा पनि सभामुख पूर्णबहादुर घर्तीले २ सांसद्लाई पदमुक्त गरिएकाे सूचना टाँस्न मान्नुभएन । बरु जबरजस्ती बैठक अगाडि बढाइरहनुभयाे । अन्तिममा प्रमुख प्रतिपक्षीलाई दाेष दिएर अधिवेशन अन्त्य गर्दै सरकार पन्छिएकाे छ ।
