काठमाडाैं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्रोन' बाट नागरिकलाई जाेगाउन आवश्यक तयारी थाल्न निर्देशन दिएकाे छ ।
आइतबार सिंहदरबारमा बसेकाे समितिकाे बैठकले ओमिक्रोनबाट जाेगिन आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई साे निर्देशन दिएकाे हाे । ओमिक्रोन रोकथामका लागि अहिलेदेखि नै आवश्यक तयारी थाल्न निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तिले जानकारी दिनुभयो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकाले नेपाल-भारत सीमानाकामा उच्च सतर्कता अपनाउनुपर्ने समितिकाे सुझाव छ । समितिले नेपाल प्रवेश गर्ने नाकामा खोप कार्ड र कोभिड परीक्षण गरेरमात्रै आवतजावतको व्यवस्था गर्न तथा आवश्यक सतर्कता अपनाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । नयाँ भेरियन्टबाट बच्नका लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझ्न र तयारी अवस्थामा राख्न पनि समितिले निर्देशन दिएकाे सभापति घर्तीले बताउनुभयाे ।
कोभिड विरुद्धको खोप सबै नागरिकसम्म पुर्याउने गरी व्यवस्था गर्न पनि निर्देशन दिइएको सभापति घर्तीले बताउनुभयाे । हरेक वडा, गाउँपालिका र नगरपालिकामा काेभिड विरुद्धकाे खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिइएको छ ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड विरुद्धको बुस्टर डोज दिने तयारी भइरहेको जानकारी दिनुभयो । यस बिषयमा मन्त्रालयमा छलफल भइसकेको र आगामी मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने उहाँले जानकारी दिनुभयाे । नेपालमा अब कोभिड विरुद्धको प्रयाप्त खोप रहेपनि लक्षित समूह खोप लगाउन नआएका कारण अब नयाँ व्यवस्था गरी सबै नागरिकलाई खोप लगाइने प्रतिबद्धता पनि उहाँले जनाउनुभयाे ।
मन्त्री खतिवडाले काेभिड विरुद्धको दुई डोज लगाइसकेका नागरिकलाई बुस्टर डोज लगाउन पनि आग्रह गर्नुभयाे । काेभिडकाे नयाँ भेरियन्ट ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको जानकारी दिँदै उहाँले विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको सुनाउनुभयाे । प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो अर्थात बुस्टर डाेज लगाउने व्यवस्था मिलाउने गरी सरकार अगाडि बढिरहेकाे मन्त्री खतिवडाकाे भनाइ छ । त्यसका लागि प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको उहाँले बताउनुभयाे ।
ओमिक्रोनबाट बच्न सरकारले हालसम्म करिब १० वटा देशलाई नेपालमा प्रतिबन्ध लगाएको बताउँदै उहाँले अन्य देशबाट आउने नागरिकलाई पनि क्वारेन्टिनमा राख्ने र पीसीआर परीक्षण गरेर मात्र घर पठाउने व्यवस्था मिलाइने बताउनुभयाे । मन्त्री खतिवडाले खाेप अभाव हुन नदिने दाबी पनि गर्नुभयाे ।
