काठमाडौं । भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुकाे नाम संसदीय समितिले अनुमाेदन गरेकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभाको संसदीय सुनुवाइ विशेष समितिले तीन देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हाे । समितिले भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्मा, बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीको नाम सर्वसम्मत रुपमा अनुमाेदन गरेकाे समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयाे ।
सुनुवाइका क्रममा सांसद्हरुले प्रस्तावित राजदूतमाथि विभिन्न प्रश्न उठाएका थिए । गत कात्तिक ११ गते बसेको मन्त्रिपरिषद बैठकले भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो ।
संसदीय समितिबाट अनुमोदनपछि उहाँहरुलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्नुहुनेछ । संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपतिले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्यवस्था छ ।
