मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत आज बसेको बैठक नेकपा (एमाले)ले अवरुद्ध गरेको छ । प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने वित्तिकै एमालेका सदस्यले उठेर विरोध गर्नुभएको हो ।
प्रदेश पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले रोस्ट्रमबाट अघिल्लो सरकारले गरेको कुलेखानी सुरुङमार्ग निर्माण गर्ने योजना फिर्ता लिएको, विद्युतीय बस खरिद प्रक्रिया रोकेको, विगतमा सात वटा मन्त्रालय मात्र रहेकामा १४ वटा पुर्याउन खोजेको, मुख्यमन्त्रीले जनताले तिरेको कर समाजवादी पार्टी संगठन निर्माणमा दुरुपयोग गर्न थालेको, विकास निर्माणको रकमलाई मन्त्रालय थपेर बजेट दुरुपयोग गरेकोजस्ता आरोप लगाउनुभयो ।
सभामुख श्रेष्ठले एमाले प्रदेशसदस्यालाई पटकपटक बस्न आग्रह गर्नुभए पनि उहाँहरूले अवरोध गरिरहनु भएपछि आजको बैठक स्थगन गरी यही पुस ८ गते ११ बजे अर्को बैठक बस्ने निर्णय गर्नुभयो ।
–रासस
