काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउन चुनाैती रहेकाे बताउनुभएकाे छ ।
सिंहदरबारमा आइतबार बसेकाे प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिकाे बैठकमा गभर्नर अधिकारीले आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउन र मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै कायम राख्न चुनौती रहेको बताउनुभयाे ।
देशमा धान लगायत कृषि क्षेत्रकाे उत्पादन घटेका कारण समेत साे लक्ष्य भेट्टाउन चुनाैती रहेकाे उहाँले प्रष्ट पार्नुभयाे । बजेटमार्फत लिइकाे ७ प्रतिशतकाे लक्ष्यमा पुग्न आफूहरु लागिरहेकाे पनि उहाँले बताउनुभयाे । यसअघि काेभिडकै बीचपनि अर्थतन्त्र सन्ताेषजनक अवस्थामा रहेपनि नयाँ आर्थिक वर्ष सुरु हुनासाथ प्रभावित भएकाे उहाँले बताउनुभयाे ।
गभर्नर अधिकारीले अहिले उच्च आयातले आर्थिक सूचकमा दवाब भएपनि त्यसको सकारात्मक नतिजा आउने बताउनुभयाे । अघिल्ला वर्षमा पनि तरलता समस्या हुने गरेपनि यो वर्ष भने बैंकिङ प्रणालीमा दीर्घकालीन तरलता समस्या हुने देखिएको उहाँले बताउनुभयाे । गभर्नर अधिकारीले तरलता अभावले निक्षेपको ब्याजदर वृद्धि हुँदा कर्जाको पनि बढिरहेको बताउनुभयाे । डिपोजिटको लागत बढेका कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित रहेपनि साना ऋणीलाई जोगाउने नीति राष्ट्र बैंकको रहेकाे उहाँले प्रष्ट पार्नुभयाे ।
बैठकमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनीले पुँजीगत खर्चका क्षेत्रमा सकारात्मक सुधार आएको बताउनुभयाे । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि गम्भिर रुपमा अघि बढिएको भन्दै उहाँले माघ लागेपछि केही सुधारका संकेत देखिने दाबी गर्नुभयाे । अर्थतन्त्र मुलुकको लाइफलाइन भएको भन्दै सचिव मरासिनीले कोभिड संक्रमण बढेमा यसलाई सकेसम्म कम प्रभावित हुने गरी नीति लिनुपर्ने बताउनुभयाे ।
बैठकमा सांसद्हरुले मुलुकको अर्थतन्त्रलाई सही दिशामा ल्याउन सम्बन्धित निकायबीच सहकार्य हुनुपर्ने बताएका थिए । सांसद् अमनलाल मोदीले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच कुरा नमिलेकोबारे प्रश्न उठाउनुभयाे । विलासिताका सामानको उपयोग घटाउने हो भने सरकारी अधिकारीबाटै सुरुआत गर्न उहाँले सुझाव दिनुभयाे । पहुँचवालालाई मात्र ऋण दिने गरेको गुनासो आइरहेको भन्दै माेदीले पहुँचवालाले सजिलै ऋण पाउने र पहुँच नहुनेले नपाउने अवस्थाबारे गम्भीर हुनुपर्ने बताउनुभयाे ।
समितिका सभापति भरत कुमार शाहले ब्याजदर लगायत क्षेत्रमा नियामकीय निकायको हस्तक्षेपकारी भूमिका सकारात्मक भएको बताउनुभयाे । सुन चाँदी, गाडी, पेट्रोलियम पदार्थ,कच्चा पाम र सोयाबिन तेलको आयात बढ्दा तरलतामा चाप परेको उहाँकाे दाबी थियाे ।
