काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले नेपालमा अहिले मुख्य पार्टी भनेका एमाले र गठबन्धन मात्र रहेका बताउनु भएकाे छ ।
बुधबार बसेकाे कर्णाली प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बाेधन गर्दै कँडेलले अभिलेखमा धेरै पार्टी भएपनि व्यवहारमा एमाले र गठबन्धन मात्रै भएको बताउनुभयाे । 'गठबन्धनभित्र कुन दल छन् भन्ने कुराले महत्व राख्दैन'-उहाँले भन्नुभयाे । अहिलेको सरकारले विगतको सरकारकाे जस्तो व्यवहार नगरी वास्तविक रुपमा कर्णालीको विकास गर्न अगाडि बढे एमालेको सहयोग रहने भन्दै उहाँले एमालेलाई पेल्न खाेजे त्यसकाे परिणाम नराम्राे आउने चेतावनी पनि दिनुभयाे ।
पहिलेका मुख्यमन्त्रीका पालामा स्थानीय निकायकाे भूमिका र दायरा नराखिकन जसलाई जहाँ मन लाग्छ त्यहाँ दान दिनेगरी बजेट वितरण गरेकाे कुरा छलर्गं रहेकाे भन्दै उहाँले साे कुरामा अहिलेका मुख्यमन्त्री जीवनबहादुर शाहीकाे ध्यानाकर्षण गराउनुभयाे । अहिलेका मुख्यमन्त्री त्याे बाटाेमा नहिँड्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
प्रदेश सरकार व्यवहारमा अनुभूति गर्ने गरी प्रस्तुत हुनुपर्ने सुझाव दिँदै उहाँले भन्नुभयाे - 'सरकार अभिलेखमा मात्र छ, व्यवहारमा अनुभूति गर्नेगरी छैन, व्यवहारमा अनुभूति हुने गरी आए एमालेको साथ हुन्छ ।'
गठबन्धन टिकाउन प्रदेश सरकारले राज्यकाे स्राेत र साधनकाे चरम दुरुपयाेग गरिरहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'यहाँ मान्छे र गठबन्धन टिकाउन झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको देखिन्छ,राज्यको साधन-स्रोतको दुरूपयोग गरेर गठबन्धन टिकाउने बाटोमा हिँडेपछि कसको के लाग्छ र ? मुख्यमन्त्रीले हिम्मतसाथ थोरै तीन मन्त्रालय मात्रै बनाएर सरकार चलाउनुभएको छ, यसरी नै सरकार चलाइराख्नु शुभकामना छ ।'
नेता कँडेलले प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको बताउनुभयाे । पूर्वाधार विकास कार्यक्रमको कार्यविधि मुख्यमन्त्री केन्द्रित बनाएको भन्दै उहाँले मुख्यमन्त्री शाहीको ध्यानाकर्षण गराउनुभयाे । सरकारले वितरण गरेका योजना समाजमा नभई सिधै नेता, कार्यकर्ताको झोलामा र घरमा जाने गरेको पनि उहाँले बताउनुभयाे ।
कर्णाली सरकारले डल्लो बजेटका नाममा एउटै जिल्लामा दुई सय वटासम्म टुक्रे योजना पारेर विकासका नाममा भ्रष्टाचार बढाएको भन्दै उहाँले चार-पाँच लाखका टुक्रे योजना ल्याएर समाज भन्दा घरमुखि बनाइएकाे बताउनुभयाे । कँडेलले भन्नुभयाे - 'त्यस्ता व्यक्तिमुखी योजना प्रदेशभर के कति छन् ? जानकारी चाहियो, नियमित काम गर्नुपर्ने योजनाको बजेट कटौती गरेर सरकारले भरणपोषणका योजनालाई प्राथमिकता दिएको छ ।'
जनताकाे जनादेशबाट नभएर परमादेशबाट बनेकाे संघीय सरकारले अध्यादेशमार्फत कानुन ल्याएर नयाँ पार्टी निर्माण गराउन मिल्ने व्यवस्था मिलाएकाे भन्दै उहाँले कर्णाली प्रदेश सभामा पनि नयाँ नाम गरेकाे पार्टी प्रवेश गरेकाे अवस्थालाई अनदेखा गर्न नसकिने बताउनुभयाे । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहँदा त्यस्तै खालकाे अध्यादेश ल्याउँदा कडा विराेध गरिएकाे कँडेलले स्मरण गर्नुभयाे ।
एमाले संसदीय दलले बदलिएका संरचना र सम्बन्धहरु कसरी अगाडि प्रकट हुन्छ साेही अनुसार धारणा बनाउने उहाँले प्रष्ट पार्नुभयाे । काे कता लाग्छ भन्ने कुराबाट एमालेले धारणा नबनाउने पनि उहाँले बताउनुभयाे ।
एमालेकाे दशाैँ महाधिवेशकै बेला मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासकाे मत लिने कार्यक्रम राखेर प्रमुख प्रतिपक्षी सहभागी भन्नु गलत रहेकाे उहाँले बताउनुभयाे । कँडेलले भन्नुभयाे -'हाम्रो दशाैँ महाधिवेशन पूर्व निर्धारित, पूर्व प्रचारित थियो, सबैलाई थाहा थियो, विश्वासकाे मत लिनु संवैधानिक थियाे, यसकाे पनि प्रयाेग विभिन्न ढंगले गरिएकाे कुरामा संसद् सरकार जानकार हुनुपर्ने हाे,सामान्य परामर्श समेत नभएकाे अवस्थाबाट बेराेकताेकसाथ हिँडिरहनुभएकाे छ ।'
बिना सल्लाह बिना संवाद चलेरै संसद्काे प्रभावकारीता हुन्छ भन्ने लागे केही भन्न नसकिने बताउँदै कँडेलले भन्नुभयाे - 'हाम्राे तर्फबाट संसद्काे मर्यादा,संसद्काे कामकारबाही,सरकारकाे काम कारबाहीलाई सकारात्मक पार्ने कुरामा हाम्राे कुनै अन्यथा साेच छैन,तर पनि संवैधानिक वाध्यताले असारपछि बल्ल भेट भएकाे छ,यस्ताे अवस्थामा समय जति बाँकी छ प्रभावकारी हुने कुरा गर्नु राम्राे ।' यद्यपि आफूले पाइन्छ ठिक छ पाइँदैन आफ्नाे बाटाे लाग्ने संस्कृति हुर्किरहेकाे कँडेलकाे भनाइ छ । संख्या र अवस्था हुँदाहुँदै पनि त्याे बाटाेमा नहिँडेकाे पात्र आफू भएकाे नेता कँडेलले बताउनुभयाे ।
प्रतिपक्षी र उठेका विषयप्रति अनदेखा गरेर जाने कुरा हुन नहुने उहाँले बताउनुभयाे । मुख्यमन्त्री शाही सुधारकाे बाटाेमा हिँडे सहयाेग रहने र नहिँडे त्यतिबेलै प्रतिपक्षीले जवाफ दिने बताउनुभयाे ।
