काठमाडौं । प्रदेश-२ को स्थायी राजधानी धनुषाको जनकपुर कायम भएकाे छ ।
साेमबार बसेकाे प्रदेश सभा बैठकमा भएकाे मतदानमा स्थायी राजधानी जनकपुर रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको हो । प्रदेशको स्थायी राजधानीका बारेमा दलीय सहमति जुट्न नसकेपछि सोमबार मतदान भएकाे थियाे ।
प्रदेश सभामा उपस्थित ९९ सांसद्मध्ये जनकपुर स्थायी राजधानी रहने प्रस्तावको पक्षमा ७८ जनाले मतदान गरेका छन् । ७८ भनेको दुई तिहाई बढी हो । ७८ मत मत प्रदेश सभाको दुईतिहाइ मत भएकाले साे प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गर्नुभयाे । प्रदेश सभामा कुल १ सय ४ जना सांसद् छन् ।
जनकपुरधाम (धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग पूर्वमा कमला नदी दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भू-भाग) पहिलो प्रस्तावकाे प्रस्तावकहरु परमेश्वर साह, रविन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरत प्रसाद साह हुनुहुन्छ ।
सभामुख यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि ४ र राजधानीका लागि ३ वटा प्रस्ताव राखेकाे थियाे । ती प्रस्तावमाथि आइतबार र साेमबार छलफल भएपनि सहमति जुट्न नसकेपछि मतदान भएको हो ।
स्थायी राजधानीसम्बन्धी प्रस्ताव पारित गरेर बैठक एक घण्टाका लागि स्थगित भएकाे छ । नामसम्बन्धी प्रस्तावमा पनि आजै मतदान हुने बताइएकाे छ ।
