काठमाडाैं । प्रदेश-२ काे नाम र स्थायी राजधानी टुंगाे लागेकाे छ ।
साेमबार बसेकाे प्रदेश सभा बैठकमा भएकाे मतदानबाट प्रदेशकाे नाम मधेश र स्थायी राजधानी जनकपुर सम्बन्धी प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएकाे हाे । प्रदेशको नाम र स्थायी राजधानीका बारेमा दलीय सहमति जुट्न नसकेपछि सोमबार मतदान भएकाे थियाे ।
सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि ४ र राजधानीका लागि ३ वटा प्रस्ताव राखेकाे थियाे । ती प्रस्तावमाथि आइतबार र साेमबार प्रदेश सभामा छलफल भएपनि सहमति जुट्न नसकेपछि मतदान भएको हो ।
मधेश नामसम्बन्धी प्रस्तावका पक्षमा भएकाे मतदानमा ९९ सांसद्ले भाग लिएका थिए । तीमध्ये मधेश प्रदेशकाे पक्षमा ८० जनाले मतदान गरे । मधेस प्रदेशका प्रस्तावक शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह हुनुहुन्थ्याे । प्रदेशकाे नामका लागि चारवटा प्रस्ताव तोकिएको थियो । जसमा मधेस प्रदेशसहित जानकी प्रदेश, मिथिला भोजपुरा र मध्य मधेश प्रदेशसम्बन्धी प्रस्ताव थिए ।
त्यसअघि आजै बसेकाे प्रदेश सभाकाे पहिलाे बैठकमा स्थायी राजधानी जनकपुर रहने प्रस्ताव बहुमतले पारित भएकाे थियाे । प्रदेश सभा बैठकमा उपस्थित ९९ सांसद्मध्ये जनकपुर स्थायी राजधानी रहने प्रस्तावको पक्षमा ७८ जनाले मतदान गरेका छन् । ७८ भनेको दुई तिहाई बढी हो । प्रदेश सभामा कुल १ सय ४ जना सांसद् छन् ।
जनकपुरधाम (धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग पूर्वमा कमला नदी दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा भित्रको सम्पूर्ण भू-भाग) पहिलो प्रस्तावकाे प्रस्तावकमा परमेश्वर साह, रविन्द्र बैठा धोवी, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी थापा र भरत प्रसाद साह हुनुहुन्छ ।
देशका ७ प्रदेशमध्ये अब प्रदेश-१ ले मात्र नाम र स्थायी राजधानी टुंगो लगाउन बाँकी छ ।
