काठमाडाैं । वाग्मती प्रदेश सभा अन्तर्गत दुई वटा समितिका सभापतिका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे मात्र उम्मेदवारी परेकाे छ ।
प्रदेश सभाको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छान्न भोलि हुन लागेको चुनावका लागि एमालेको मात्रै उम्मेदवारी परेको हो ।निर्वाचन कार्यतालिका अनुसार आइतबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताकाे समय ताेकिएकाेमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको मात्रै उम्मेदवारी परेको प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
एमालेले अर्थ समितिका सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंका केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको छ । दुवै समितिमा प्रतिपक्षीको बहुमत भएकाले गठबन्धन निर्वाचन प्रक्रियामा नै सहभागी नभएको बताइएकाे छ ।
अर्थ समितिका सभापतिको चुनाव भाेलि मध्याह्न १२ बजेका लागि तय गरिएको छ । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति पदको चुनाव सोमबार दिउँसाे २ बजेका लागि तय गरिएको छ ।
