काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकका लागि २ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ । तर साे सम्भावित कार्यसूची चर्चित एमसीसीलाई भने राखिएकाे छैन ।
आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७-०७८’ पेस गर्नुहनेछ । सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न शोक प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
प्रतिनिधि सभा बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिकाे बैठक बस्दैछ । त्यसपछि एमसीसीलाई कार्यसूची राख्न सकिने बताइएकाे छ । माओवादी संसदीय दलकाे बैठक पनि आजै बस्दैछ ।
मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले नाफा-घाटा जे भएपनि बुधबारकाे प्रतिनिधि सभा बैठकमा एमसीसी सदनमा टेबल हुने बताउनुभएकाे थियाे । यसबारे आफूले सभामुख अग्निप्रसाद सापकाेटासँग कुरा गरेकाे पनि उहाँले बैठकलाई जानकारी गराउनुभएकाे थियाे । तर, संसद् सचिवालय जारी गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी अटाएको छैन ।
