काठमाडाैं । नेकपा एमालेका सांसद् याेगेश भट्टराईले पार्टीकाे अहिलेकाे प्राथमिकता चुनाव रहेकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद् भट्टराई भन्नुभयाे - 'एमालेकाे प्राथमिकता वैशाख ३० काे स्थानीय चुनाव तथा आउने संघ र प्रदेशकाे चुनाव हाे अहिले, एमालेकाे प्राथमिकता सत्ता गठबन्धन हाेइन, प्रधामन्त्री हाेइन, मन्त्री हाेइन,चुनाव हाे ।'
अहिलेकाे पाँच दलीय गठबन्धन अप्राकृतिक ढंगले बनेकाे भन्दै उहाँले साे गठबन्धन टुट्नै पर्ने बताउनुभयाे । सांसद् भट्टराईले भन्नुभयाे - 'याे गठबन्धन जे उद्देश्यले बनेकाे थियाे, यसकाे जग बलियाे थिएन,यसमा प्रयाप्त मात्रामा कंक्रिट थिएन, सिमेन्ट थिएन, छड मिलेकाे थिएन,रसायन मिलेकाे छैन,याे टुट्नु त अनिवार्य छ,याे त एकदमै अप्राकृतिक ढंगले बनेकाे थियाे ।'
गठबन्धन टुट्याे भने संविधानकाे धारा ७६ अनुसार अगाडि बढ्ने व्यवस्था रहेकाे पनि सांसद् भट्टराईले स्मरण गराउनुभयाे । नेकपा एमालेका सचिव समेत रहनुभएका सांसद् भट्टराईले एमसीसीबारे आवश्यक समयमा निर्णय गरिने जानकारी समेत दिनुभयाे ।
