काठमाडाैं । अन्तत: मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झाैता प्रतिनिधि सभामा पेस भएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे विराेध र सत्ता गठबन्धनकै सांसद्काे नाराबाजी बीच सरकारले आज बसेकाे प्रतिनिधि सभामा एमसीसी सम्झाैता टेबल गरेकाे हाे ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता (एमसीसी) टेबुल गर्नुभएकाे हाे । उहाँले अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट साे एमसीसी टेबल गर्नुभएकाे हाे ।
सधैंझै एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले सदनकाे कार्यसूची अगाडि बढाउनुभएकाे थियाे । सभामुखले एमसीसी टेबल गर्नका लागि मन्त्री कार्कीलाई समय दिँदा सत्ता पक्षकै सांसद्हरु राष्ट्रिय जनमाेर्चाकी सांसद् दुर्गा पाैडेल,एकीकृत समाजवादीका झलनाथ खनाल, नेमकिपाका प्रेस सुवाल लगायतले आ-आफ्नाे ठाउँबाट उठेर विराेध गरेका थिए ।
०७४ सालमा नेपाल र अमेरिकाबीच एमसीसी सम्झाैता हुँदा अर्थमन्त्रीका रुपमा कार्कीले नै एमसीसीमा हस्ताक्षर गर्नु भएको थियो । संयाेगवस टेबल गर्नेमा पनि उहाँ नै पर्नुभएकाे छ । ०७६ असार ३० गते अनुमोदनका लागि प्रतिनिधि सभामा एमसीसी दर्ता भएकाे थियाे ।
