काठमाडौं । मुखले एक थोक भन्ने काम अर्कै गर्ने प्रवृत्ति प्रचण्ड-माधव प्रवृत्ति हाे । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालकाे दोहोरो चरित्रको पर्याय हो प्रचण्ड-माधव प्रवृत्ति । आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा पनि प्रचण्ड-माधव प्रवृत्ति देखिएको छ । सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रतिनिधि सभामा प्रचण्ड-माधव प्रवृत्ति दोहाेर्याएका हुन् ।
आइतबार बिहान सत्ता गठबन्धनको बैठकमा भएको भनिएको भद्र सहमति प्रचण्ड र माधवले ताेड्नुभयाे । त कुटे जस्तो गर म रोए जस्तो गर्छु भनेजसरी प्रतिनिधि सभामा दोहोरो चरित्र देखाउनुयभयाे । सरकारलाई समर्थन गरेझैँ पनि गर्ने, आफूहरू चुप लागेर बस्ने, सांसद्लाई विरोधमा बोल्न लगाउने दोहोरो चरित्र प्रचण्ड र माधवले देखाउनुभयो । आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा गठबन्धनमा रहेका दलबीच प्रतिनिधि सभामा एमसीसी टेबल गर्ने सहमति भएको थियो । प्रचण्डको सचिवालयले पनि एमसीसी टेबल गर्ने समझदारी भएको छ भनेर उल्लेख गरेको थियो । त्यस लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने विषयमा अनौठो दृश्य देखियाे । बैठकको सुरुमै बोल्दै माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी टेबल गर्ने विषयमा आफूहरूको असहमति रहेको बताउनुभयो । त्यस विषयमा ध्यानाकर्षण भएको पनि गुरुङले बताउनुभयो । संशाेधनबिना एमसीसी पास हुन नसक्ने उहाँले बताउनुभयाे ।
प्रचण्डकाे आदेश पालकका रुपमा काम गर्दै आउनुभएका सभामुख अग्निप्रसाद सापकाेटाले बाेल्नका लागि नाम नटिपाउनुभएका एमाले सांसद् भीम रावललाई बाेल्न समय दिनुभयाे । जबकी गत ६ महिना यता नेकपा एमालेले सदनका कुनैपनि कामकारबाहीमा भाग लिएकाे छैन ।
अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्नुहुने कार्यसूचीमा उल्लेख थियाे । तर अर्थमन्त्री शर्मा नै बैठकमा उपस्थित हुनुभएन । प्रतिनिधि सभामा एउटा मन्त्रीकाे तर्फबाट अर्काे मन्त्रीले कुनै विधेयक वा प्रस्ताव पेस गर्न पाइन्छ । तर आजकाे बैठक एमसीसीसँग जाेडिएकाे थियाे । माओवादीबाटै मन्त्री बनेकाले मसीसी टेबल गरेकाे भन्ने आराेपबाट बच्न अर्थमन्त्री शर्मा बैठकमा नै अनुपस्थित हुनुभएकाे बताइन्छ । सरकारमा बस्ने, समर्थन पनि गर्ने, सम्बन्धित मन्त्रालयको मन्त्रीको हैसियतले प्रस्ताव पेस गर्ने बेला सदनमा उपस्थित नहुने, एमसीसी पेस गरेकाे अबजस कांग्रेसकाे टाउकाेमा बाेकाउने दाेहाेराे चरित्र मन्त्री शर्मामा पनि देखियाे ।
अर्थमन्त्री अनुपस्थित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीको तर्फबाट सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी टेबल गर्न अनुरोध गर्नुभयो ।
कार्की रोस्टममा जाँदै गर्दा माओवादी र एकीकृत समाजवादीका सांसद्ले उठेर नाराबाजी गर्न थाले । अगाडिको रोमा बस्नुभएका प्रचण्ड शान्त देखिनुभयो । माधव नेपाल पनि शान्तै देखिनुभयो ।
प्रचण्डकी बुहारी बिना मगर लगायतले नाराबाजी थाल्नुभयो । एकीकृत समाजवादीका झालनाथ खनाल लगायतले पनि एमसीसी टेबल गरेको विषयमा नारा लगाउनुभयो । आफ्नै पार्टीको निर्णयको सोही पार्टीका केही सांसद्ले विरोध जनाउनुभयो । प्रचण्ड-माधवहरूले भने समर्थन जनाउनुभयो । प्रचण्ड र माधवमा सरकार छाड्नुपर्ने डर प्रष्टै देखियो ।
बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका सांसद् झलनाथ खनालले एमसीसी टेबल गर्ने सहमति नभएको दाबी गर्नुभयो । सदनले एमसीसी अनुमाेदन गरे गलत नजिर बस्ने खनालकाे भनाइ छ । एकीकृत समाजवादीकी सांसद् तथा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भने सहमति भएको बताउनुभयो । सरकार छोड्नुपर्ने डर झाँक्रीमा पनि प्रष्ट देखियाे । साेही डरका कारण झाँक्रीले सम्हालिएर प्रतिक्रिया दिनुभएकाे उहाँकै बाेलीबाट प्रष्ट हुन्थ्याे । सदनमा पेस भएपछि पनि एमसीसीमा संशाेधन हुन सक्ने झाँक्रीले बताउनुभयाे । संसद्भित्र मात्र होइन बाहिर पनि प्रचण्ड-माधवले त्यसैगरी चरित्र देखाउनुभइकाे घटनाक्रमले नै पुष्टि गर्छन् । भित्र प्रचण्ड-माधवले एमसीसी टेबल गर्ने बेला मौन समर्थन गरेर बसिरहँदा बाहिर उहाँहरूका भ्रातृ संगठनले विरोध प्रदर्शन गरिरहेका थिए । उहाँहरूकै निर्देशनमा भ्रातृ संस्थाहरूले अनेक नाटक मञ्चन गरिरहेका थिए भन्नेमा दुई मत नहाेला ।
सत्ता र सडक दुबै राेज्ने र हिंसा मच्चाउने खेलमा प्रचण्ड-माधव लाग्नुभएकाे छ ।
एमसीसीमा सभामुखकाे युटर्न
एमसीसी टेबल गर्न नदिने अडानमा रहेका सभामुख सापकोटा एकाएक एमसीसी टेबल गर्न सहमत हुनुभयो । छोरालाई राजदूत बनाउने सर्तमा सभामुख एमसीसी टेबल गर्न सहमत हुनुभएको तथ्य सार्वजनिक भएको छ ।
सभामुखले निष्पक्ष व्यवहार नगरेकाे भन्दै गत ६ महिना यता प्रमुख प्रतिपक्षीले सदन अवरुद्ध गरिरहेकाे छ । आज पनि सभामुखले आफ्नाे व्यवहार देखाउनुभयाे । एमालेका सांसद् भीम रावललाई बाेल्न समय दिएर सभामुखले नजिता एमसीसीकै पक्षमा पार्न खाेजेकाे देखियाे । एमालेले एमसीसीकाे छलफलमा भाग पनि लियाे विराेध पनि गर्याे भन्ने भ्रम फैलाउन सभामुखले भीम रावललाई बाेल्न समय दिनुभएकाे एमाले नेताहरुकाे ठहर छ ।
सभामुखले दलीय सहमति विपरित भीम रावललाई बाेल्न समय दिनु आपत्तिजनक रहेकाे एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयाे ।
