काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूहरुकाे माग पूरा नभएसम्म सदनकाे कुनै पनि काम कारबाहीमा भाग नलिने स्पष्ट पारेकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुका मुद्दा सम्बाेधन नहुँदासम्म सदनका कुनै पनि काम कारबाहीमा भाग नलिइने प्रष्ट पार्नुभयाे । आफूले कारबाही गरेका १४ सांसद्लाई सभामुख अग्निप्रसाद सापकाेटाले पदमुक्त नगरेकाे भन्दै एमालेले सदन अवरुद्ध गर्दै आइरहेकाे छ ।
सभामुखको अन्याय, अत्याचार र विभेदका कारण लामो समयदेखि संसदीय कारबाहीमा विमुख भएर बसेकाे पनि प्रमुख सचेतक भट्टराईले स्मरण गराउनुभयाे । एमसीसीकाे पक्षमा एमाले कसरी उभिन्छ भन्ने सञ्चारकर्मीकाे प्रश्नमा उहाँले भन्नुभयाे - 'हामीप्रति गरिएको अन्यायका कारण हामीले प्रतिवाद गर्न हामी नाराबाजी र घेराउमा छौँ, कुनै पनि संसदीय काम कारबाहीमा एमालेलाई संलग्न हुने अवसर प्रदान गरिएको छैन, यी कुनै प्रक्रियामा हामी सामेल हुँदैनौँ, हाम्रो माग पूरा नभएसम्म एमाले कतै जाँदैन, अवरोध गरिरहन्छौँ ।' एमसीसीकाे नाममा सडकमा हिंसा र जबरजस्ती गर्न खोजिएको विषयमा एमालेले विराेध गरिरहेकाे पनि उहाँले बताउनुभयाे ।
प्रतिनिधि सभामा एमसीसी टेबल गर्नुअघि सांसद् भीम रावललाई सभामुख अग्निप्रसाद सापकाेटाले बाेल्न दिएकाेमा उहाँले कडा आपत्ति जनाउनुभयाे । दलीय सहमतिबिना बाेल्न दिनु आपत्तिजनक भएकाे बताउँदै भट्टराईले भन्नुभयाे - 'नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद्लाई दलीय सहमति नलिई, हाम्रो अनुमतिबिना बोल्न दिने कुरा दलीय मर्यादाविरुद्ध छ, हामीले दलीय सहमतिबिना किन बोल्न दिनुभयो भनेर सभामुख अग्नि सापकोटासमक्ष आपत्ति प्रकट गरेका छौँ ।' सभामुखले एमालेप्रति गरिरहेकाे व्यवहार आज पनि देखाएकाे उहाँले बताउनुभयाे ।
प्रमुख सचेतक भट्टराईले एमसीसी टेबल गर्ने बेलामा सत्ता गठबन्धनभित्रका केही दलले नाटक देखाएका पनि बताउनुभयाे । 'एमसीसी एउटा ठूलो सडकमा द्वन्द्व सिर्जना गरेर, हिंसा निम्त्याएर नेपाली नागरिकबीच पेचिलो लडाइँ सिर्जना गरी विलम्ब गरेर ल्याइयो, नाटक के देखिँदैछ भने सरकारमा पनि बस्ने, संसदमा पनि उपस्थित हुने, कोही बस्ने कोही उभिने, कोही नारा लगाउने, कोही मुसुमुसु हाँसिरहने देखिएको छ ।'
सडकमा एउटा, अमेरिकासँग एउटा, कार्यकर्तासँग एउटा, बैठकमा एउटा, रोचक दृश्य देखिएकाे टिप्पणी पनि उहाँले गर्नुभयाे ।
