काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा अमेरिकी सहायता परियाेजना (एमसीसी) माथि छलफल हुने सम्भावित कार्यसूची छ । बैठकमा एमसीसीमाथि छलफल गरियाेस् भन्ने प्रस्ताव पेस हुने संघीय संसद् सचिवालयले जनाएकाे छ ।
'माननीय अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्टमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने'- सम्भावित कार्यसूचीमा लेखिएकाे छ । फागुन ८ गते बसेकाे प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल भएकाे थियाे ।
आजकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पनि पेस गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले जनाएकाे छ ।
यता प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजकाे बैठक पनि अवरुद्ध गर्ने भएकाे छ । आफूहरुका माग पूरा नहुँदासम्म सदन अवराेध जारी रहने एमालेले बताउँदै आएकाे छ ।
एमसीसी टेबल गर्ने दिन अनुपस्थित हुनुभएका अर्थमन्त्री जनादर्शन शर्मा छलफल गरियाेस् भन्ने प्रस्ताव गर्ने दिन काठमाडाैं बाहिर जानुभएकाे छ । एमसीसी छल्न अर्थमन्त्री शर्मा पर्वत पुग्नुभएकाे हाे । आफै सहभागी गठबन्धन सरकारमा बसेर सरकारकै विरुद्धमा आन्दोलन गरेको भन्दै माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चा लगायत दलहरूको आलोचना भइरहेको छ ।
एमसीसी सम्झौताको पक्षमा रहेको सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्ना सांसद्लाई आजको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले पनि सदनमा अनिवार्य उपस्थित हुन आफ्ना सांसद्लाई निर्देशन दिइसकेको छ ।
