काठमाडौं । नेकपा एमालेका सांसद् याेगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नाे पार्टीसँग ब्ल्यांक चेक मागिरहेकाे बताउनुभएकाे छ ।
संघीय संसद् भवन परिसरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सत्ता पक्षकाे मुख्य दल र प्रतिपक्षीबीच संवाद हुनु सकारात्मक भएपनि माग पूरा नभएसम्म आफूहरुकाे अगाडि नबढ्ने उहाँले बताउनुभयाे । याेगेशले भन्नुभयाे- 'हामीले उठाएका कुरालाई कुनै सम्बाेधन नगरीकन प्रधानमन्त्री शेरबहादुर देउवाले ब्ल्यांक चेक माग्नुभएकाे छ,एमालेले दिँदैन,त्याे चेक ब्ल्याकेन ह्वाइट हुनुपर्छ ।'
नेपाललाई भूराजनीतिक अखडा बनाइएकाे भन्दै उहाँले याे गठबन्धनकाे असफलता रहेकाे बताउनुभयाे । 'गुटका संकट ल्याएर पार्टीमा थाेपर्ने,पार्टीका संकट ल्याएर गठबन्धनमा थाेपर्ने अनि गठबन्धनकाे संकटलाई राष्ट्रिय सकंटकाे रुपमा नेपाललाई भूराजनीतिकाे चलखेल गर्ने अखडा बनाइएकाे छ याे गठबन्धनकाे सर्वथा असफलता हाे,यसले मुलुककाे बेइज्जत भएकाे छ, अन्तर्राष्ट्रिय छवि अत्यन्तै कमजाेर भएकाे छ, यसकाे जवाफदेहित प्रधानमन्त्री र गठबन्धनले लिनुपर्छ ।'
एमालेसँग संवाद गर्ने भए ब्ल्यांक चेक नभएर ब्ल्याक एण्ड ह्वाइटमा कुरा गर्नुपर्ने उहाँकाे भनाइ छ । एमाले विपक्षी रहेकाे भन्दै उहाँले एमालेलाई एमसीसी पास गर्नुपर्ने दायित्व नरहेकाे बताउनुभयाे । 'भत्केपनि उहाँहरुकै कारणले भत्कन्छ,नभत्के पनि उहाँहरुकै कारणले नभत्कन्छ, तर मुलुकलाई निकास दिन गठबन्धन भत्कनुपर्छ,गठबन्धन जहिलेसम्म रहन्छ उहिलेसम्म मुलुक अनिर्णयकाे बन्दी बन्छ ।'
