काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दै छ ।
दलहरुबीच एमसीसीमा सहमति नभएपछि बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज सम्मका लागि स्थगित गरिएको थियो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्ने कार्यसूची रहेकाे संघीय संसद् सचिवालयले जनाएकाे छ ।
आजकाे बैठकमा अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (एमसीसी) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । फागुन ८ गते बसेकाे प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल भएकाे थियाे ।
एमसीसी टेबल गर्ने कार्यसूचीमा अर्थमन्त्री शर्मा नाम थियाे तर उहाँ बैठकमा उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गर्नुभएकाे थियाे ।
आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन,आर्थिक वर्ष २०७७-७८' पेस गर्नुहुने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
