काठमाडाैं । भोलि बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
संघीय संसद् सचिवालयले शनिबार सार्वजनिक गरेकाे कार्यसूचीमा एमसीसीमाथि छलफल हुने उल्लेख छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (एमसीसी)माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
फागुन ८ गते बसेकाे प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल भएकाे थियाे । एमसीसी टेबल गर्ने कार्यसूचीमा अर्थमन्त्री शर्मा नाम थियाे तर उहाँ बैठकमा उपस्थित नभएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गर्नुभएकाे थियाे ।
सत्ता गठबन्धनबीच नै एमसीसीका पारित गर्ने सहमति नभएपछि लगातार दुई पटक सूचना टाँसेर प्रतिनिधि सभाकाे बैठक स्थगित भएको थियो । अमेरिकाले एमसीसी सम्झौता फागु १६ गतेभित्र पास गर्नुपर्ने समय दिएकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा सदन राेक्न आग्रह गरेर केही दिन यता निरन्तर छलफलमा हुनुहुन्छ । सत्ता गठबन्धनकै दल र प्रमुख प्रतिपक्षीबीच देउवाले छलफल गरेपनि अहिलेसम्म सहमति निस्कन सकेकाे छैन ।
