काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सांसद् झलनाथ खनालले नेपालमा एमसीसी चाहियाे भनेर आफूले पत्र नलेखेकाे दाबी गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा एमसीसीमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै खनालले आफू प्रधानमन्त्री भएका बेला एमसीसी चाहियाे भनेर अमेरिकालाई पत्र नलेखेकाे प्रष्ट पार्नुभयाे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाल प्रधामन्त्री बन्दा एमसीसी नेपालमा आवश्यक छ भनेर अमेरिकालाई निवेदन दिनुभएकाे बताउनुभएकाे थियाे । त्यसकाे जवाफमा खनालले साे कुरा बताउनुभएकाे हाे ।
सदनले एमसीसीका गलत प्रावधानलाई हटाएर मात्र अनुमाेदन गर्नुपर्ने उहाँले बताउनुभयाे - 'अनुमाेदन नाटक जस्ताे नहाेस्,यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा हामी छैनाैँ,यथास्थितिमा नाे एमसीसी ।' तर गठबन्धनकाे बैठकमा उहाँकाे पार्टी एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमाेदन गर्न सहमति जनाएकाे थियाे ।
व्याख्यात्मक घाेषणालाई अमेरिकाले स्वीकार्ने ग्यारेन्टी छ-छैन भन्ने प्रश्न पनि खनालले उठाउनुभयाे । एमसीसीका सबै दस्तावेज सदनमा पेस गर्न खनालले माग गर्नुभयाे । सदनमा छलफल गर्ने वातावरण मिलाउन खनालले सरकारकाे ध्यानाकर्षण पनि गराउनुभयाे ।
