काठमाडाैं । जनता समाजवादी पार्टीका सांसद् बाबुराम भट्टराईले लाज छाेप्न र जनतामा जाने बाटाे खाेज्न एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएकाे बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा एमसीसीमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्नाे लाज छाेप्न र जनतामा जाने बाटाे खाेज्न एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएकाे बताउनुभयाे ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालतर्फ लक्षित गर्दै सांसद् भट्टराईले एमसीसीमा तलैसम्म भ्रम फैलाउने काम गरेकाे बताउनुभयाे । जनतामा भ्रम फैलाएर फेरि जनतामा जान लाज लाग्ने अवस्था आएपछि व्याख्यात्मक टिप्पणीकाे टालाे राखिएकाे बाबुरामले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'सांसद्लाई निर्वाचन क्षेत्रमा जान डराएका छाैँ, तलसम्म यसरी विषाक्त गरिएकाे छ,जाे उहाँहरुले हिजाे तलतलसम्म वातावरण विषाक्त बनाउनुभयाे, जाे आफैंलाई जनताकाे बीचमा जान नसक्ने बनाउनुभयाे, पातलाे लगाैटी लगाएर आफ्नाे लाज छाेप्ने र जनतामा जाने बाटाे खाेज्दै हुनुहुन्छ भन्दा म खुशी छु ।'
एमसीसी नेपालकाे हितमा रहेकाे भन्दै उहाँले एमसीसीबारे भ्रम फैलाउने काम भएकाे बताउनुभयाे । एमसीसीमा भएका केही प्रावधान अप्रिय भएपनि आधारभूत रुपमा सम्झाैता राम्राे भएकाे बाबुरामकाे भनाइ छ ।
सबै प्रधानमन्त्रीका बेला एमसीसी सम्झाैता अगाडि बढेकाे भन्दै उहाँले हिजाे किन काेही बाेलेन भन्दै प्रश्न गर्नुभयाे ।
