काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् राजेन्द्र लिङ्देनले एमसीसी सम्झौतालाई यथास्थितिमा पारित गर्न नहुने बताउनु भएकाे छ ।
आइतबारकाे प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष समेत रहनुभएका सांसद् लिङ्देनले एमसीसीलाई स्थगित गरेर नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयाे ।
उहाँले एमसीसीको विषयमा सम्पूर्ण देश नै विवाद र अन्योलमा परेको बेला सदनबाट सामान्य छलफल गरेर यसलाई पारित गर्न खोज्नु आपत्तिजनक रहेको बताउनुभयाे । एमसीसी सम्झौताका विषयमा जनतामा भएका त्रास र आशंकालाई मेटाउनु पर्ने र जनतालाई भ्रममा पारेर अनुमोदन गर्न नहुने उहाँकाे भनाइ छ ।
व्याख्यात्मक टिप्पणीकाे नाममा जनतालाई भ्रममा पार्ने काम नगर्न आग्रह गर्दै उहाले भन्नुभयाे - 'व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्छ कि मान्दैन ? एमसीसी मान्छ कि मान्दैन ? यसप्रकारका कथित तर्क ल्याएर जनतालाई भ्रम पार्ने काम गर्नुहुँदैन ।'
वैदेशिक सम्बन्धलाई सत्ता चढ्ने सिँढी र सत्तामा टिक्ने लिसाेकाे रुपमा प्रयाेग नगर्न उहाँले चेतावनी दिनुभयाे । दलहरुका कारण सिंगाे देशले क्षति भाेग्नु परेकाे भन्दै उहाँले वैदेशिक सम्बन्धमा गम्भीर हुन सबै दललाई आग्रह गर्नुभयाे ।
