काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकाे अवराेधबीच प्रतिनिधि सभाकाे बैठक केहीबेर बसेर स्थगित भएकाे छ ।
'राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७-७८' पेस गरेपछि सभामुख अग्निप्रसाद सापकाेटाले बैठक फागुन २२ गतेसम्मका लागि स्थगित भएकाे घाेषणा गर्नुभयाे । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले साे प्रतिवेदन सभासमक्ष पेस गर्नुभएकाे हाे ।
बुधबार बैठक सुरु भएलगत्तै एमाले सांसद्ले सधैंझैँ वेल अगाडि आएर नाराबाजी गरेका थिए । एमालेकाे अवराेधबीच सभामुख सापकाेटाले बैठककाे कार्यसूची अगाडि बढाउनुभएकाे थियाे ।।
आफूले कारबाही गरेका १४ सांसद्लाई पदमुक्त नगरेकाे भन्दै नेकपा एमालेले गत ७ महिना यता सदन अवराेध गर्दै आएकाे छ । सदनका कुनै कामकारबाही भाग लिएकाे छैन । यद्यपि एमालेकाे अवराेधबीच सभामुख अग्निप्रसाद सापकाेटाले बैठक अगाडि बढाउँदै आउनुभएकाे छ ।
