काठमाडौं । राष्ट्रिय सभामा २० सांसद्काे पदावधि आजदेखि सकिएको छ ।
राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल पूरा गरेर २० सांसद् आजदेखि बिदा हुन लागेका हुन् । नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, एकीकृत समाजवादीका ४ र राष्ट्रपतिबाट मनोनीत १ जनाको कार्यकाल सकिएकाे हाे ।
एमालेका अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलकाे कार्यकाल सकिएकाे छ । कांग्रेसका राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्टकाे कार्यकाल सकिएकाे छ । माओवादीका खिमकुमार विक, जीवन बुढा, दिनानाथ शर्मा र शशिकला दाहालकाे कार्यकाल सकिएकाे छ ।
राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पनि कार्यकाल सकिएकाे छ । एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरकाे कार्यकाल पनि सकिएकाे छ ।
कार्यकाल सकिएका २० सांसद्मध्ये तारादेवी दिगो विकास तथा सुशासन समिति सभापति, विडारी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति र परशुराम विधायन व्यवस्थापन समिति सभापति समेत हुनुहुन्छ । राधेश्याम कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता, दिनानाथ राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता र सुमनराज राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता हुनुहुन्छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज साँझ ५ बजे उहाँहरुकाे बिदाइ गर्नुहुने कार्यक्रम छ । बिदा हुन लागेका सांसद् त्यहिँ नै आफ्ना कुरा राख्ने छन् ।
रिक्त रहने सिटमा निर्वाचित १९ सांसद्को शपथ ग्रहण कार्यक्रम भाेलि बिहान ११ बजेका लागि तय गरिएकाे छ। माघ १२ गते भएको राष्ट्रिय सभाका १९ सिटमा एमालेबाट सोनाम गेल्जेन शेर्पा निर्वाचित हुनुभएकाे छ ।
कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित हुनुभएकाे छ । माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की निर्वाचित हुनुभएकाे छ । एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह (गरिमा) निर्वाचित हुनुभएकाे छ । जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएकाे छ ।
