काठमाडाैं । प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिले आफनो २१औँ वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले २१ औँ वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) समितिबाट पारित गरेको हो । सभापति भरतकुमार शाहले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन समितिले सर्वसम्मतिले पारित गरेको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयाे ।
समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको उहाँले बताउनुभयाे । सचिव पाण्डेले प्रतिवेदनमा ९ वटा उपसमितिहरुले गरेका बेरुजु फर्छ्यौटका कामहरु समावेश गरिएको जानकारी दिनुभयाे । 'बेरुजु फर्स्योट गर्ने सन्दर्भमा गठन भएका उपसमितिले गरेका काम प्रतिवेदनमा समावेश छ, समसामयिक निर्णय, राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणपछि तयार गरिएको अध्ययन प्रतिवेदनलाई पनि समेटिएको छ'-उहाँले भन्नुभयाे ।
मन्त्रालय र केन्द्रीय निकायमा रहेको बेरुजु किनारा लगाउन गरिएको प्रयास, बेरुजुका सम्बन्धमा उठेका विषय, असुल उपर गर्नुपर्ने रकम, आर्थिक रूपले वित्तीय व्यवस्थापनका सवालमा नीतिगत निर्णय गर्न चालिनु पर्ने कदम लगायतका सुझाव पनि प्रतिवेदनमा समेटिएकाे छ । समितिले समसामयिक विषयमा गरेका निर्णयहरु, गण्डकी प्रदेशको कालीगण्डकी करिडोर लगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षण लगायत विषय पनि प्रतिवेदनमा समेटिएकाे उहाँले जानकारी दिनुभयाे ।
