काठमाडाैं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले शनिबार शपथ लिएका हुन् । सिंहदरवारस्थित संसद् सचिवालयमा आयाेजित एक समाराेहबीच राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएकाे हाे । याेसँगै १९ सदस्यकाे कार्यकाल सुरु भएकाे छ ।
एक मनोनीत सांसद्को नाम टुंगिन बाँकी छ । राष्ट्रपतिले १ जनालाई राष्ट्रिय सभामा मनाेनीत गर्ने व्यवस्था छ ।
गत माघ १२ गते भएकाे राष्ट्रिय सभा सदस्य चुनावबाट नेपाली कांगेसका ६, माओवादी केन्द्र र एकीकृत समाजवादीका ५-५ तथा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका १-१ जना निर्वाचित भएका थिए ।
कांग्रेसबाट निर्वाचित नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेतले शपथ लिनुभएकाे छ । माओवादी केन्द्रबाट निर्वाचित उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर, नरबहादुर विष्ट र जगतबहादुर कार्कीले शपथ लिनुभएकाे छ । एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह शपथ लिनुभएकाे छ ।
जसपाबाट मोहम्मद खालिद, एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्माले पनि शपथ लिनुभएकाे छ । राष्ट्रिय सभामा जनमाेर्चाले पहिलाे पटक इन्ट्रि गरेकाे हाे ।
४ वर्षे कार्यकाल सकेर १ जना मनाेनीतसहित राष्ट्रिय सभाका २० सांसद् शुक्रबार बिदा भएका छन् ।
