काठमाडाैं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय प्रक्रिया सहभागी हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आगामी बैठकमा एमाले सदनका कामकारबाहीमा सामेल हुन सक्ने बताउनुभयाे । निलम्बित प्रधानन्यायधीश चाेलेन्द्र शम्शेर जबरा विरुद्ध ल्याइएकाे महाअभियाेग छानबिन गर्नका लागि बनाइएकाे छानबिन समितिमा एमाले सहभागी हुनु सकारात्मक रहेकाे मन्त्री बडूले बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'यसलाई सकारात्मक रुपमा लिनुपर्छ, मलाई त उहाँहरु संसदीय प्रक्रियामा सहभागी हुनुभयाे भन्ने लाग्छ, नारावाजी गर्नुभएकाले बाेल्नुभएन,यद्यपि उहाँहरुकाे समर्थन छ ।' सदन चलायमान हुन सक्ने आशा बढ्दै गएकाे भन्दै उहाँले जनसराेकारका विषयमा सदनमा छलपल हुनुपर्ने वातावरण बनाउनुपर्ने बताउनुभयाे । सदन सबैकाे सहभागितामा अगाडि बढ्नुपर्ने उहाँकाे भनाइ छ ।
सदन अवरुद्ध भइराख्ने हाे भने अर्ली इलेक्सनमा जान सकिने पनि उहाँले बताउनुभयाे । 'संसद् सधैं अवराेध भइरहने हाे भने,१०-१५ मिनेट चलाएर बन्द गर्ने अवस्था हाे भने यसकाे प्रयाेजन रहँदैन भन्ने कुरा त जनताबाट पनि उठ्न सक्छ, त्यसकारण याे भरपुर रुपमा चलायमान बनाइराख्नुपर्छ'- मन्त्री बडूकाे भनाइ छ ।
एमालेले लामो समयदेखि संसद् अवरोध गरिरहँदा संसद्को औचित्यमाथि जनताबाट प्रश्न उठ्ने अवस्था बनेकाले अर्ली इलेक्सनको कुरा उठेको उहाँकाे भनाइ छ । एमाले संसदीय प्रक्रियामा आयो भने संसद् पूर्णकालसम्म नै चल्ने पनि उहाँले बताउनुभयाे ।
नेकपा एमालेले भने सदन अवराेध कायमै राख्ने बताइसकेकाे छ ।
