काठमाडाैं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस हुनुभएका तिलप्रसाद श्रेष्ठको सुनुवाई प्रक्रिया अघि बढेको छ ।
संघीय संसद्काे संसदीय सुनुवाइ विशेष समितिले श्रेष्ठकाे सुनुवाइ प्रक्रिया अगाडि बढाएकाे हाे । सिंहदरबारमा साेमबार समितिकाे बैठकले श्रेष्ठ विरुद्ध कुनै उजुरी भए उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ ।
श्रेष्ठ विरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय भएकाे समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । संसदीय सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय भएकाे भन्दै उहाँले १० दिनपछि श्रेष्ठमाथिको सुनुवाइ अघि बढ्ने बताउनुभयो ।
केही दिन अघि बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चको न्यायधीश पदका लागि बिराटनगर उच्च अदालतका मुख्य न्यायाधिश श्रेष्ठको नाम सिफारिस गरेको थियो । प्रस्तावित नाम सुनुवाइ समितिबाट अनुमाेदन भएपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।
