काठमाडाैं । नेकपा (एमाले)को विरोधका बीच राष्ट्रियसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेस गरिएको छ ।
बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदहरुले आसन ग्रहण नगरी बैठकमा विरोध जनाएपछि मौनधारणा लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका देवेन्द्र दाहाललाई बोल्न समय दिनुभएको थियो ।
सांसद दाहालले अघिल्लो अधिवेशन देखिनै आफूहरुले उठाउँदै आएको माग पूरा नभएको भन्दै यस अधिवेशनमा पनि आफूहरुको विरोध जारी नै रहेको सदनमा जानकारी गराउनुभएको थियो । उहाँले सरकारले सदन सञ्चालनमा रुची नदेखाएको आरोप लगाउँदै विगतमा एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाहीको सूचना प्रकाशित गर्नुपर्ने माग कायमै हुँदा सदनको अवरोध जारी नै रहेको जानकारी गराउनुभएको थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पटकपटकको आग्रहपछि पनि एमालेका सांसदहरुले उभिएर विरोध नै जनाइरहेपछि उहाँले कार्यसूचीलाई अघि बढाउनुभएको थियो ।
बैठकमा विराेधकाबीच विभिन्न आठ अध्यादेश पेस गरिएकाे छ ।
बैठकमा गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ ले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८ पेस गर्नुभएको थियो ।
उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको तर्फबाट औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ लाई पनि सभासमक्ष पेस गर्नुभएको थियो ।
उहाँले नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको तर्फबाट रेलवे अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८ लाई पनि पेस गर्नुभयो ।
राष्ट्रियसभाको आजको बैठकको लोकतन्त्र र गणतन्त्र प्राप्तिका निम्ति ज्यान उत्सर्ग गर्ने ज्ञान अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो ।
माथिल्लो सदनमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट विभिन्न मितिमा मन्त्रिपरिषद् गठन, कार्यभार तोकिएको र राष्ट्रियसभा सदस्य मनोनयनसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धर पहिलो संविधानसभा सदस्य जगतबहादुर ताजपुरीया, दोस्रो संविधानसभा सदस्य दुमनसिंह थापा र प्रतिनिधिसभाका पूर्वसदस्य विष्णुराज आचार्यको निधनप्रति शोक प्रस्तावसमेत पारित गरिएको थियो ।
–रासस
