काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७९-८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।
सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम छ । यही नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट संसदमा पेश हुनेछ।
मंगलबारको पहिलो बैठकमा राष्ट्रपतिले संयुक्त सदनलाई सम्बोधन गर्ने र संसद्को दोस्रो बैठक पुनः साँझ ६ बजे बस्ने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधनको प्रति टेबल गर्नुहुने कार्यसूची छ । संयुक्त सदनलाई सम्बोधन गरेकोमा सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपतिप्रति धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको पनि संसद् सचिवालयले जनाएकाे छ ।
