काठमाडौं । प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदले मूल्य वृद्धि विरुद्ध छलफल गर्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्नुभएको छ । उहाँहरूले नेपाल संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यमा वर्तमान सरकारको अदूरदर्शिता र गैर जिम्मेवार गतिविधिका कारण आघात पुगेको बताउनुभएको छ । अर्थतन्त्रका प्रमुख परिसूचकहरू उत्पादन, उपभोग, बचत, लगानी, शोधान्तर बचत, भुक्तानी सन्तुलन, व्यापार, कुल गार्हस्थ उत्पादन, कुल राष्ट्रिय उत्पादन जस्ता पक्षमा सरकारले यथेष्ट ध्यान पुर्याउन नसक्दा अर्थतन्त्र थप धराशायी हुन पुगेको उहाँहरूको प्रस्तावमा उल्लेख छ । ‘जनताको जनजीविकासँग जोडिएका खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरूको मूल्य आकासिएको छ, हालको बजार मूल्य अनुसार कमजोर आय स्रोत भएका मानिसहरूलाई जीवन धान्न कठिनाइ परिरहेको छ’, प्रतिनिधि सभामा दर्ता गरिएको छलफल प्रस्तावमा उल्लेख छ । सरकारले नागरिकको जनजीविकाको विषयलाई ध्यान दिएर मुद्रास्फीतिलाई रोक्नुको सट्टा दिनानुदिन खाना पकाउने ग्यास र डिजेल, पेट्रोल, मट्टितेल लगायतका जनताको जनजीविकासँग जोडिएका पेट्रोलियम पदार्थको मूल्य बढाएको सांसदहरूको भनाइ छ । ‘स्वचालित मूल्य निर्धारण कार्यविधिअनुसार नेपालमा आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्य बमोजिम पन्ध्र दिनमा एक पटक समायोजन गर्न सक्ने प्रावधान विपरीत बढाएको छ’, उहाँहरूले लेख्नु भएको छ । खाना पकाउने ग्यास, डिजेल र पेट्रोल लगायतका पदार्थको मूल्य बढ्दा यसले पार्ने बहु आयामिक असर सम्बन्धमा सरकारले कुनै विश्लेषण नगरेको उहाँहरूको टिप्पणी छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले मूल्यवृद्धिका कारण जनताको जनजीविकामा पर्न गएको असरबारे जिम्मेवार भएर छलफल गर्नुको सट्टा बेमौसमी रूपमा नेपाल आयल निगमको निजीकरण गर्ने कुरा उठाएको उहाँहरूको भनाई छ । सो प्रस्तावको प्रस्तावकमा प्रतिनिधि सभामा प्रमख सचेतक विशाल भट्टराई हुनुहुन्छ । समर्थकमा एमाले सांसद यज्ञराज सुनुवार र गणेश कुमार पहाडी तथा राप्रपाका सांसद् राजेन्दप्रसाद लिङ्देन हुनुहुन्छ ।
प्रतिनिधि सभामा दर्ता भयाे मूल्य वृद्धि विरुद्ध जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
काठमाडौं । प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदले मूल्य वृद्धि विरुद्ध छलफल गर्न जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्नुभएको छ । उहाँहरूले नेपाल संविधानले...
SUNRISE KHABAR
1 min read
