काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले गठबन्धन दलका नेताले मतदातालाई धम्क्याएर आफ्नो पक्षमा मत पारेको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेता ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तर्फ लक्षित गर्दै त्यस्तो धम्कीले नागरिकहरू द्वन्द्वकाल सम्झिएर थरथरी कामेका बताउनुभयो । त्यस्तो अभिव्यक्तिले चितवनमा द्वन्द्वको बेलामा मान्छे मारेर बोरामा घिसारेको पीडा नागरिकलाई सम्झन बाध्य पारेको उहाँले बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आर्जु देउवा प्रति लक्षित गर्दै उहाँले केहीले कांग्रेस नजितेको ठाउँमा बजेट नै नपठाउने अभिव्यक्ति दिएको प्रति आपत्ति जनाउनु भयो । ‘सम्माननीय प्रधानमन्त्री ज्यूको आफ्नै वडामा चाहिँ केही पनि जाने भएन, किन भने त्यहाँ रुखले जितेन कि क्या हो, लोकतन्त्रको हरिबिजोक यो भन्दा के हुन्छ’, उहाँले भन्नुभयो । ओलीले एकातिर पार्टीबाट चुनाव जितेकालाई सर्वोच्च अदालतले पार्टीको निर्देशन नलाग्ने आदेश जारी गर्ने अर्कोतिर आफूले तोकेको अर्को पार्टीलाई मत नदिए कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिने संस्कार पनि नेपालको राजनीतिमा देखिएको उहाँले बताउनुभयो । पार्टीका कार्यकर्ता र जनतालाई निरन्तर भय र त्रास दिने काम सत्ता गठबन्धनले गरेको उहाँले बताउनुभयो । गठबन्धनले खटाएको उम्मेदवारलाई सरकारी उम्मेदवारको रूपमा प्रस्तुत गरेर जनतालाई भोट हाल्न बाध्य बनाएको उहाँले प्रष्ट पार्नुभयो । मतदानको समयमा धेरै मतदाताको मत पार्टीका कार्यकर्ताले खसालिदिएको उहाँले बताउनुभयो । मतगणना समेत ढिलाइ गरेर सत्ताको दुरुपयोग गरेर आफ्नो अनुकूलको निर्णय गराएको उहाँले आरोप लगाउनुभयो । समग्रमा निर्वाचन स्वच्छ र स्वतन्त्र हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । चौतर्फी घेराबन्दीको बिचमा पनि खटेका र लडेका एमालेका नेता कार्यकर्तालाई उहाँले धन्यवाद दिनुभयो । यस्तो बेलामा चुनाव जित्ने एमालेका जनप्रतिनिधि धन्यवादका पात्र भएको उहाँले बताउनुभयो । यस्ता खालका षडयन्त्र र असत्य धेरै नटिक्ने उहाँले बताउनुभयो । फेरि पनि एमाले सत्यको पक्षमा लागि रहने उहाँले प्रष्ट पार्नुभयो ।
लोकतन्त्रको हरिबिजोक यो भन्दा के हुन्छ : केपी ओली
काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले गठबन्धन दलका नेताले मतदातालाई धम्क्याएर आफ्नो पक्षमा मत पारेको बताउनुभएको छ...
SUNRISE KHABAR
1 min read
