काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यक्तिगत सबै सम्पत्ति राज्यको नाममा गरेको बताउनभएको छ ।
संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उहाँले भन्नुभयो– 'मैले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु । मैले राज्यका नाममा सम्पत्ति ल्याइदिन भ्रष्टाचार किन गर्नुपर्ने ? कुनै महानुभाव निस्किनुस् न राज्यका नाममा सम्पत्ति हस्तान्तरण गर्ने ? केपी ओलीलाई मुखभरिको जवाफ दिन भए पनि घोषणा गर्नुस् त ?’
उहाँले पूर्वप्रधानमन्त्रीहरुलाई समेत व्यक्तिगत सम्पत्ति राज्यको नाममा गर्न चुनौति दिनुभएको छ । 'मैले सम्पत्तिमा लोभ गर्नुपर्ने केही छैन । अर्काको नाममा सम्पत्ति राखेर आफू बदनाम हुनुपर्ने कुनै कारण छैन । आफू नखानेले अर्कोलाई किन खुवाउँछ ?’ उहाँले भन्नुभयो ।
आफूसँग ३० देखि ४० अर्ब रुपैयाँ छ भन्ने हल्ला सुनेको बताउँदै ओलीले भन्नुभयो– ‘केपी ओलीसँग कम्तिमा पनि ३०, ४० अर्ब छ रे । कहाँ छ भन्दा स्वीस बैंकमा । स्वीस बैंकले सुनोस् मेरो त्यति पैसा छ भने जसले भनेको हो उसैको नाममा सारिदियोस् ।’
