काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा एेतिहासिक सम्बाेधन गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै अध्यक्ष ओलीले अहिलेसम्मकै लामाे सम्बाेधन गर्नुभयाे । उहाँले २ घण्टा ५५ मिनेटसम्म प्रतिनिधि सभामा बाेल्नुभयाे । सदनमा यति लामो भाषण दुर्लभ नै सुन्न पाइन्छ ।
संघीय संसद् सचिवालय स्रोतका अनुसार टनकपुर सन्धीको बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारीले पनि ३ घण्टा संसद्मा बोल्नुभएको थियो । 'मदन भण्डारी भन्दा यता कसैले यता यति लामो समय संसद्मा बोलेका सायदै छैनन्'- सचिवालयका एक अधिकारीले सनराइज खबरलाई भन्नुभयो ।
एमाले संसदीय दलका नेता ओलीले सरकारकाे नीति तथा कार्यक्रम उल्लेखित बुँदा-बुँदाकाे व्याख्या गर्दै अस्पष्ट र भ्रमपूर्ण विषयमा सरकारसँग जवाफ माग गर्नुभयाे । सरकारकाे नीति तथा कार्यक्रमकाे कुनै गन्तव्य नभएकाे भन्दै उहाँले याे उद्देश्यहीन रहेकाे बताउनुभयाे ।
सरकारले आफ्नाे भूमिलाई आफ्नाे भन्न नसकेकाे, राष्ट्रिय स्वाधिनता र अखण्डताकाे रक्षा गर्न नसकेकाे, नेपालकाे स्वतन्त्र परराष्ट्र नीतिमा खलल पुर्याउने काम गरेकाे ओलीले बताउनुभयाे ।सरकारकाे नीति तथा कार्यक्रमकाे कुनै गन्तव्य नभएकाे भन्दै उहाँले अस्थिरता सृजना गर्नका लागि बनेकाे गठबन्धनले अस्थिरताका लागि जारी गरेकाे घाेषणापत्र जस्ताे भएकाे बताउनुभयाे । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकाे हाे कि हाेइन ? नेपाल एक चीन नीतिमा छ कि छैन ? अमेरिकी उपविदेशमन्त्रीलाई शरणार्थी शिविरमा जान इजाजत दिनुपर्ने हो कि होइन ? इजाजत दिएको हाे भने किन दिएको भन्नुपर्दैन ? यी प्रश्नकाे जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभयाे ।
अध्यक्ष ओलीले गठबन्धन सरकारले सत्ताकाे चरम दुरुपयाेग गरेकाे,मतदातालाई धम्की र पैसाकाे प्रलाेभन दिएकाे, स्थानीय चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले हुन नसकेकाे बताउनुभयाे । सरकारको निति तथा कार्यक्रममा गन्तव्यबिहीन र जनता अल्मल्याउने कुरा मात्र रहेको उहाँकाे भनाइ थियाे ।
कांग्रेससँग देश बनाउने कुनै नीति नभएकाे पनि उहाँले बताउनुभयाे । एमालेले ल्याएका कार्यक्रमकाे विराेध गरेर एमाले सरकार ढाल्ने र एमालेकै कार्यक्रम समेटेर नीति तथा कार्यक्रम तयार पार्नु लज्जाजनक विषय भएकाे पनि उहाँले बताउनुभयाे । एमालेले अघि सारेकाे समृद्ध नेपाल सुखी नेपालीकाे नारा नीति तथा कार्यक्रबाट हटाइएकाे भन्दै उहाँले त्याे नारा पूरा गर्ने हुती गठबन्धन सरकारसँग नरहेकाे पनि बताउनुभयाे ।
एमालेले ल्याएका नीति तथा कार्यक्रम हटाउन समेत उहाँले सरकारलाई चुनाैती दिनुभयाे । सरकारले नीति तथा कार्यक्रमकै बुँदा भ्रष्टाचारलाई प्रवर्द्धन गर्नेछाैं भन्ने वाक्य राखेकाेमा उहाँले कडा आपत्ति जनाउनुभयाे ।
नीति तथा कार्यक्रम नै स्पष्ट रुपमा ल्याउन नसक्ने सरकारसँग कुनै अपेक्षा गर्न नसकिने पनि उहाँले बताउनुभयाे । केही मानिसले स्थानीय तह चुनावकाे नतिजालाई तुलना गरेर एमाले पत्तासाफ भयाे भन्ने भ्रम फैलाएका भन्दै उहाँले एमालेकाे केही सिट गुमेकाे तर जनतमता हिसाबमा अहिले पनि पहिलाे रहेकाे प्रष्ट पार्नुभयाे ।
नीति तथा कार्यक्रम करिब सबै बुँदाकाे व्याख्या गर्दै उहाँले सरकारसँग जवाफ माग्नुभयाे ।
