काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) ले बनाएको प्रतिवेदन बुझ्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले ईपीजीले बनाएको प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभयाे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमाने एकतर्फी रुपमा भएपनि बुझेर ईपीजी प्रतिवेदन सार्वजनिक गर्न ओलीले देउवालाई आग्रह गर्नुभएकाे हाे ।
प्रतिवेदन बुझेर त्यसमा रहेका अन्तरवस्तु सदनलाई जानकारी गराउन अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयाे । 'नेपाल र भारतका दुई प्रधानमन्त्रीले छलफल गरेर, औपचारिक वार्तामा बसेर, औपचारिक टेबलमा निर्णय गरेर, प्रबुद्ध समूह गठन गरेर, त्याे समूहले दुबै पक्षकाे सहमतिमा बनाएर २ वर्ष भन्दा बढी काम गरेर रिपोर्ट तयार गरिएकाे,त्याे बुझिएकाे छैन, के भनियो भने - भारतले बुझेन, म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु- एउटा प्रधानमन्त्रीले पहिले बुझ्नुपर्यो नि ? संयुक्त रुपमा बनाएकाे ग्रुपकाे प्रतिवेदन बुझ्नुस्,त्यसमा के छ सदनलाई जानकारी गराउनुस्'-ओलीकाे सुझाव छ ।
दुबै तर्फबाट सहमतिको आधारमा तयार भएकाे प्रतिवेदन भएकाले भारतले बुझ्दैन भनेर नेपाल चुप लाग्न नहुने बताउनुभयाे । ईपीजी प्रतिवेदन सन् २०१९ मा नै तयार भएको थियो ।
