काठमाडौं । अब प्रतिनिधि सभामा ‘स्तरहीन’ शब्द प्रयोग गर्न नपाइने भएको छ ।
उद्योग तथा वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओली विरुद्ध ‘जथाभावी’ बोलेको भन्दै एमालेले प्रतिनिधि सभा वैठक अवरुद्ध गरेको थियो ।
मन्त्री बडूले प्रतिपक्षी नेता ओलीले सदनमा बोलेका कुरा ‘स्तरहीन’ भन्ने अभिव्यक्ति सदनमा दिनुभएको थियो ।
वडूले सदनमा बोल्दा झतँञ शैली समेत प्रयोग गर्नुभएको थियो ।
‘स्तरहीन’ शब्द सदनमा प्रयोग गर्न नपाइने भन्दै एमालेका सांसद् खगराज अधिकारीले नियमापत्ति जनाउनुभएको थियो ।
बडूले ओलीलाई लक्षित गर्दै ‘जनताको हितमा गरिने सत्कार्यमा कमिसन मात्रै देख्ने दुर्नियत देख्दा, साउनको महिनामा दृष्टि गुमाएको गोरुले हरियो मात्रै देख्छ भन्ने उखान स्मरण गराउँछ’ भन्दै उखानको प्रयोग समेत गर्नुभएको थियो ।
आपत्तिजनक अभिव्यक्ति पछि एमालेका सांसदले बैठक अवरोध गरिरहँदा पनि मन्त्री बडू रोकिनुभएन। उहाँले अझैं थप्नुभयो–‘आफू प्रम हुँदा कमिसन नै कमिसनको चास्नीमा रमाइरहेकाले सत्ता गुमाउन पुगेकाले कमिसनबाहेक के देख्न र सोच्न सक्दछ र भन्ने प्रमाणित गराउँदछ।’
एमालेको नियमापत्ति जारी रहेको अवस्थामा सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा रुलिङ गर्नुभयो । तर मन्त्री बडू रोकिनुभएन, उहाँले थप्नु भयो– ‘सत्ता गुमाएको कुण्ठा र रोदन कम गर्न पनि सुझाव दिन चाहन्छु।’
एमालेले विरोध जारी राखेको अवस्थामा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समय माग्नुभयो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेतामाथि गम्भीर आक्षेप लगाउँदै मन्त्री जस्तो पदमा रहेका व्यक्तिले सडकमा पनि प्रयोग गर्न नमिल्ने भाषा प्रयोग गरेको बताउनुभयो । ‘मन्त्रीले इज्जत दाउमा राखेर मनपरी शब्द बोल्न पाउँदैन। असंसदीय र गैरराजनीतिक शब्द रेकर्डबाट हटाउने र संसदीय समिति बनाउन माग गर्दछौं’, उहाँले भन्नुभयो ।
असंसदीय शब्द
सभामुखले वैठकमा कुनै शब्द प्रयोग नगर्नु भनी रोक लगाउन सक्छन् । असंसदीय शब्द कुन हो भनेर निर्णय गर्ने अधिकार सभामुखलाई हुन्छ ।
अभिलेखबाट हटाउने
संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)मा सांसदहरुले बोलेका हरेक कुराको अभिलेख राखिन्छ । विगतमा त्यस्ता शब्दहरु कागजमा लेखेर राखिन्थे । अहिले भिडियो र अडियो पनि राखिन्छ ।
सांसदले प्रयोग गरेको कुनै शब्द असंसदीय घोषित भएमा सांसदले बोलेको कुराको अभिलेख राखिएको पानामा रहेको त्यो शब्दमा चिन्ह लगाइन्छ र फुटनोटमा सभामुखको आदेशल हटाएको भनी उल्लेख गरिन्छ । वास्तवमा शब्द नै चाहिँ मेटिँदैन । त्यस्तो शब्द प्रयोग भएको अडियो भिडियो पनि यथावत राखिन्छ ।
पूरानो हो चलन
संसदमा मर्यादित शब्दहरु मात्र प्रयोग गर्न सकिन्छ । अमर्यादित शब्दहरु प्रयोग गर्न मिल्दैन । वेलायतको संसदबाट असंसदीय शब्द अभिलेखबाट हटाउने चलन चलेको हो ।
नेपालमा २०१६ मा तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले कैयन शब्दलाई असंसदीय घोषणा गरेका थिए । पछिका सभामुख दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवासचन्द्र नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महराले पनि विभिन्न शब्दलाई असंसदीय घोषणा गर्नभएको थियो ।
दुवैतिर
प्रतिनिधिसभामा असंसदीय घोषित शब्द राष्ट्रिय सभामा पनि स्वत असंसदीय ठहरिन्छ । यद्यपि, नियमावलीमा अनिवार्य व्यवस्था भने छैन । तथापि, विगतको अभ्याश अनुसार एउटा सदनमा असंसदीय घोषित शब्द अर्काे सदनमा पनि स्वत असंसदीय ठहरिन्छ ।
असंसदीय घोषित शब्द सांसदहरुले बोल्ने क्रममा प्रयोग गर्न पाउँदैनन् ।
अस्पष्ट
आजको वैठकमा प्रयोग भएका आपत्तिजनक शब्द हटाउन सभामुख सापकोटाले शुक्रबार स्थगित पछि बसेको दोस्रो वैठकमा मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विषयमा सार्वजनिक महत्वका विषयमा विशेष समय बोल्ने क्रममा प्रयोग भएका असंसदीय शब्दहरु अभिलेखबाट हटाउने निर्णय सुनाउनुभएको छ । तर, कुनकुन शब्द हटाएको भन्ने खुलाएका छैनन् ।
सबैभन्दा विवादमा परेको ‘स्तरहीन’ शब्द थियो । सो शब्द सहित अन्य आपत्तिजनक शब्द हटाउने भएपछि बैठक सञ्चालनमा सहमति भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सनराइज खबरलाई बताउनुभयो ।
सदनमा अब 'स्तरहीन' शब्द प्रयोग गर्न पाउँदै नपाइने भने होइन । कसैलाई लक्षित र अपमानित गरेर सो शब्द प्रयोग गर्न चाहिँ पाइँदैन ।
